गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
छत्रकोट–५, मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला परेको थियो। त्यस्तै, कामीका छिमेकी झुमिला विकको आरनबाट एक थान भरुवा बन्दुक र कामीसँग बन्दुक खरिद गरेको भनिएका प्रेमबहादुर सिँजालीको घरगोठबाट अर्को एक थान भरुवा बन्दुक बरामद गरिएको छ।
प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी–बट आठ थान, काठका बट पाँच थान, फलामका गोली तथा छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद तथा हतियारका विभिन्न पाटपुर्जा बरामद गरेको जनाएको छ।
त्यसैगरी, हतियार निर्माणमा प्रयोग हुने आरनपङ्खा दुई थान, गेलेन्डर मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, भाइब्रेसन मेसिनलगायत विभिन्न औजार पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

