काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि ओलीविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन्। उनले सरकारलाई ‘खराने ग्याङ’को संज्ञा दिँदै आफूहरूमाथि विभिन्न किसिमका दबाब र ज्यादती भइरहेको दाबी गरिन्।
बुधबार ‘स्मृतिमा बालकोट घर : सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले ओलीको सुरक्षा कटौती गरिएको, विभिन्न आरोप लगाइएको तथा पक्राउ गरिने हल्लामार्फत मानसिक दबाब सिर्जना गरिएको बताइन्।
उनका अनुसार पछिल्ला वर्षहरूमा ओलीलाई दिइँदै आएको सुरक्षा घटाइएको छ। संकटका बेला समेत सुरक्षा व्यवस्था कमजोर बनाइएको उनको आरोप थियो।
‘खराने ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविक नै हो। किनभने उनीहरूलाई अपमान गर्न मात्रै आउँछ,’ शाक्यले भनिन्, ‘त्यही भएर खराने ग्याङले धेरै वर्ष पहिलेदेखि केपी शर्मा ओलीलाई दिइरहेको सुरक्षा कटौती गरेको छ। अहिले केही मात्रै सुरक्षाकर्मी रहनुभएको छ।’
शाक्यले आफूहरू अझै पनि देशको सेवा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै आफूहरूमाथि निरन्तर आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन्।
देशले भोगेको भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिप्रति आफूहरू मर्माहत रहेको उल्लेख गर्दै उनले विपत्तिको विषयमा समेत ओलीमाथि विभिन्न आरोप लगाइएको बताइन्।
‘अझै पनि श्वास रहेसम्म यो देशको सेवा गरौँला भनेर बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छाडेका छैनन्,’ उनले भनिन्, ‘देशले भोगेको भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिमा हामी कति मर्माहत छौँ भन्ने ती मानवताविहीनलाई के थाहा? यसमा पनि केपी ओलीलाई अनेक आरोप लगाइरहेका छन्।’
उनले आफूहरूमाथि लगाइएका आरोपको जस्तोसुकै अवस्था आए पनि कर्तव्यबाट पछि नहट्ने बताइन्।
शाक्यले पछिल्लो वर्ष आफूहरूमाथि भएको भनिएको व्यवहार र घटनाबारे विस्तृत रूपमा व्याख्या गर्न लामो समय लाग्ने दाबी गरिन्। उनका अनुसार २०८२ असोज २ गते १० दिन सेनाको ब्यारेकमा बसेपछि आफूहरू गुन्डू पुगेका थिए।
गुन्डू पुगेपछि पनि आफूहरूलाई त्यहाँबाट हटाउन स्थानीय बासिन्दालाई उचाल्ने तथा घरबेटीलाई घर बेच्न दबाब दिने काम भएको उनले आरोप लगाइन्।
‘बरू गोली खान तयार छौँ, यहाँबाट भाग्दैनौँ किनकि हामीले कुनै कसुर गरेका छैनौँ भनेर अडान लियौँ,’ उनले भनिन्।
त्यस समयमा आफूहरूविरुद्ध दिनरात ‘जेन–जीले घर घेर्न आउँदैछन्’ भन्ने हल्ला फैलाइएको पनि शाक्यको दाबी थियो। विषम परिस्थितिका बीच सरकारले सुरक्षा कटौती गरेको आरोप लगाउँदै उनले संकटका बेला आफूहरूलाई सुरक्षा दिएको भन्दै देशभक्त नेपालीप्रति आभार व्यक्त गरिन्।
उनले वर्तमान सरकार गठन भएपछि ओलीलाई उपत्यकाबाहिर जान रोक लगाइएको र विदेश जान सक्ने आशंकामा राहदानी रोक्का गरिएको हल्लासमेत चलाइएको दाबी गरिन्।
त्यस्तै, गौरीबहादुर कार्की नेतृत्वको आयोगको नाममा ओलीलाई पक्राउ गरिने हल्ला निरन्तर फैलाइएको उनको आरोप थियो।
तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते निर्वाचन गराएर आफूले ‘खराने ग्याङ’लाई मान्यता दिएको शाक्यले आरोप लगाइन्। निर्वाचनपछि बनेको सरकारको सुरुवाती निर्णयमै ओलीलाई पक्राउ गर्ने योजना रहेको उनको दाबी थियो।
‘हामीले पटकपटक अपमानजनक व्यवहार खेप्यौँ। फागुन २१ को चुनावपछि टीओबी ग्याङ र खराने ग्याङ मिलेर बनेको सरकारको पहिलो निर्णय नै केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने थियो,’ उनले भनिन्।
गृहमन्त्रीका रूपमा सुधन गुरुङ आएपछि ओलीलाई पक्राउ गरिने आफूले अनुमान गरेको बताउँदै शाक्यले त्यसपछि ओली र रमेश लेखकलाई पक्राउ गरेर सरकारले प्रतिशोधको बाटो रोजेको आरोप लगाइन्।
ओली पक्राउ परेपछि आफूहरू अस्पतालमा रहेका बेला घर खानतलासी गर्ने हल्लासमेत फैलाइएको उनले बताइन्। घरमा बाहिरबाट अवैध सामान ल्याएर राख्ने र पछि त्यही सामान बरामद भएको प्रचार हुन सक्ने आशंका आफूलाई लागेको उनको भनाइ थियो।
त्यसैले घरभित्र प्रवेश गर्नुअघि सुरक्षाकर्मीका ज्याकेट, झोलालगायत सामान जाँच गर्नुपर्ने अडान आफूले लिएको उनले बताइन्।
‘केपी शर्मा ओलीलाई चैत १४ गते गिरफ्तार गरेपछि २१/२२ दिन अस्पतालमा बित्यो। अहिले पनि खराने ग्याङ धरपकड गर्न खोजिरहेको छ,’ शाक्यले भनिन्।
शाक्यले आफूहरूमाथि जस्तोसुकै दबाब र आरोप आए पनि देश र जनताको सेवाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन्।

