नेकपाले भत्कायो कांग्रेसको गढ, फाल्गुनन्दमा कुरुम्बाङ विजयी

by समतल अनलाइन

पाँचथर। नेपाली कांग्रेसको गढको रुपमा चिनिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको उपनिर्वाचनमा विजय हासिल गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो झण्डा गाड्न सफल भएको छ । प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वारलाई पछि पार्दै फाल्गुनन्दमा नेकपाका वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका छन् ।

कुरुम्बाङले ८०६ मतको अन्तरले कांग्रेसका प्रतिद्वन्द्वीलाई हराएका हुन् । गए राति सम्पन्न मत परिणाम अनुसार कुरुम्बाङले ५३६९ मत प्राप्त गरेका छन्् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गरेका छन् ।

यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा १७९ मत बदर भएको निर्वान अधिकृत नवराज दुलालले जानकारी दिए । गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।
२०२४ बैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व. बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको थियो ।

तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
२०५२ सालमा तत्कालीन नेकपा (एमाले) बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित भएका थिए ।

 
 
  
 

You may also like