आयोगमा आचारसंहिता उल्लंघनका १६ उजुरी, उपप्रधानमन्त्री यादवको भाषण पनि ‘नोटिस’

by समतल अनलाइन

काठमाडौं । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवको भाषणलाई समेत नोटिस गर्दै निर्वाचन आयोगमा उपनिर्वाचनका क्रममा आचारसंहिता उल्लंघनका १६ उजुरी दर्ता भएका छन् ।

आचारसंहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका रहेको निर्वाचन आयोगले जनाएको छ । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यस्तै आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेको जनाइएको छ ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा गरेको भाषण र दाङको घोराहीमा मुख्यमन्त्री शंकर पोखरेलले गरेको भाषणलाई पनि आयोगले नोटिसमा लिएको आयोग स्रोतले जानकारी दिएको छ । आचारसंहिता उल्लंघन भएको बारे मिडियाका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जानकारी गराएको छ ।

‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ स्रोतले भन्यो, ‘मिडियामा आएका समाचारहरुको कटिङ समेत संकलन भइरहेकाले आचारसंहिता उल्लंघनको संख्या अरु बढ्न सक्ने देखिएको छ ।’

भोलि (शनिबार) देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।

त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ ।

देशभरका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि पाँहजार पाँच सय कर्मचारीहरु तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् ।

 

 
 
  
 

You may also like