नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति पश्चिम नेपाल बस व्यवसायी प्रालीको दुःख व्यक्त

by समतल अनलाइन

बुटवल । अर्घाखांची जिल्लाको नरपानीमा बुधवार भएको यात्रु वाहक बस दुर्घटनाप्रति पश्चिम नेपाल बस व्यवसायी प्रालीले दुःख व्यक्त गरेको छ ।

बुधवार दिउसो ४ बजे सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी नजिकै कालाखोलामा पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गतको लु.२ ख २१४८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

गाडी धनी, चालक र १७ जना यात्रु गरी १९ जनाको ज्यान जाने गरी भएको उक्त उक्त दुर्घटनाले आफुहरुलाई स्तब्ध बनाएको पश्चिम नेपाल बस व्यवसायी प्रालीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रालीका अध्यक्ष दधिराम खरेलले ठूलो जनधनको क्षती हुनेगरी भएको दुर्घटनाले सिंगो बस व्यवसायी प्राली परिवार स्तब्ध भएको बताएका छन् । विज्ञप्तीमा घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको प्रभावकारी उपचारमा कुनै कमी आउन नदिईने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा परि १६ जना यात्रु घाईते भएका छन् । जसमध्ये सन्धिखर्क नगरपालिका १ का ३ वर्षका एन्जल भट्टराई र छत्रदेव गाउंपालिका ७ ढिकुराका १९ वर्षिय लोकनाथ पाण्डे सामान्य उपचारपछि घर फर्किएका छन् ।

१४ जना घाईतेहरुको बुटवल, भैरहवा र काठमाण्डौमा उपचार भईरहेको छ ।

 
 
  
 

You may also like