साग भलिबल : महिला टिम विजयी, पुरुष टिम पराजित

by समतल अनलाइन

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको महिला भलिबल टोलीले सुखद शुरुवात गरेको छ ।

सागको औपचारिक उद्घाटन हुनुभन्दा चार दिनअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुरु भएको महिला भलिबलको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ ।

तुलनात्मक रूपमा निकै कमजोर रहेको बंगलादेशमाथि नेपालले सहज जीत निकालेको थियो । पहिलो सेटमा २५–९ को जित हात पारेको नेपालले दोस्रो सेटमा पनि २५–९ कै नतिजा निकालेको छ ।

तेस्रो सेटमा नेपाल २५–११ ले विजयी भएको थियो । शुरुवातमा पहिलो रोजाइका खेलाडीलाई उतारेको नेपालले बंगलादेशले कमजोर प्रदर्शन गरेपछि दोस्रो सेटदेखि सबै खेलाडीलाई पालैपालो मौका दिएको थियो ।

बंगलादेशले नेपालको सर्भिसलगायत नेगेटिभ प्वाइन्टमा अंक लिएको थियो । खेलपछि नेपालका प्रशिक्षक जगदीश भट्टले बंगलादेशलाई कमजोर आँक्दा खेलमा केही कमजोरी भएको बताएका छन् ।

साग महिला भलिबलमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । बुधबारै लागि तय माल्दिभ्स र पाकिस्तानबीचको खेलमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाकओभर पाएको छ ।

राखेप कभर्ड हलमै बुधबार साँझ भएको पुरुषतर्फको खेलमा भने नेपालले बंगलादेशसँग ३–२ सेटले पराजित हुनु परेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा चुक्दा नेपालले २५–२१, २३–२५, २५–१९, २४–२६, १५–१२ ले पराजय बेहोर्न पुग्यो ।

नेपाली खेलाडीले चार सेटमा उत्कृष्ट प्रदर्शन गरे पनि पाँचौं सेटमा भने कमजोर प्रदर्शन गरेको थियो । नेपाल शुक्रबार भारतको सामना गर्नेछ । सेमिफाइनलमा स्थान सुरक्षित गर्न भारतलाई हराउनै पर्ने हुन्छ ।

 
 
  
 

You may also like