बुटवल। स्याङ्जा पत्रकार समाज नेपालले नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा रुपन्देहीबाट जिल्ला, प्रदेश र केन्द्रमा विजयी भएका पत्रकारहरु तथा सञ्चारिका समूह रुपन्देहीका नवनिर्वाचित पदाधिकारीहरुलाई एक विशेष कार्यक्रमका बीच बुटवलमा बधाई तथा सम्मान गरेको छ।
स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
नगर प्रमुख पाण्डेले नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाई बधाई दिदै पत्रकार समाजलाई समाजको ऐना भएकोले कलम चलाउँदा सत्य, निष्पक्षता र जिम्मेवारीको ख्याल गर्नुपर्ने बताए। साथै, समाज रुपान्तरण र बुटवलको विकासमा पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहेको भन्दै सुझाव र सल्लाहका साथ सहकार्य गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारितामा विधि र नियमको पालना गर्दै खरो रुपमा लेखन गर्नुपर्ने बताए। लुम्बिनी प्रदेशकी उपाध्यक्ष मीना ढकालले स्याङ्जा पत्रकार समाजद्वारा गरिएको सम्मानले थप ऊर्जा र प्रेरणा दिएको उल्लेख गरिन्।
त्यस्तै, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले सञ्चार क्षेत्रको सशक्तिकरण र पत्रकारहरुको क्षमता विकासका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा स्याङ्जाली परिवार रुपन्देहीका महासचिव सुदीप न्यौपानेले देशको राजनीतिक परिवर्तनमा पत्रकारहरुको अतुलनीय योगदान रहेको बताए।
समाजका अध्यक्ष डा. चापागाईंले स्याङ्जामा जन्मिएका र विदेशमा समेत क्रियाशील पत्रकारहरुलाई एकत्रित गर्दै स्याङ्जाको इतिहास संरक्षण र पर्यटन विकासमा योगदान दिने लक्ष्य राखिएको बताए।
कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष डिल्लीनारायण पाण्डेले तथा सञ्चालन महासचिव प्रकाश डुम्रेले गरेका थिए।