रुपन्देहीमा मानवीय सेवाको नयाँ अभियान: १६०० युनिट रगत संकलनको लक्ष्य

by समतल अनलाइन

बुटवल । नेपाल नियमित रक्तदाता संघ, जिल्ला शाखा रुपन्देहीले “मानवीय सेवामा समर्पित अभियान” भन्ने नाराका साथ रक्तदान जीवनदान अभियान सुरु गरेको छ। यस अभियानले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभाव हटाउने र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने अभियानको मुख्य लक्ष्य रहेको जानकारी दिए। उनले भने, “रक्तदान जीवनदान हो” भन्ने नारालाई व्यवहारमा उतार्दै १६०० युनिट रगत संकलन गर्ने हाम्रो महत्त्वाकांक्षी लक्ष्य हो। यसले रगत अभावका कारण समस्या भोगिरहेका बिरामीहरूलाई ठुलो राहत दिनेछ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मानसिक स्वास्थ्य, नसा रोग, रक्तचाप, मधुमेह लगायतका रोगहरूको निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने जनाइएको छ। साथै, नियमित स्वास्थ्य परीक्षण पनि अभियानको मुख्य अंशका रूपमा रहनेछ।

डावर नेपाल, रेडक्रस, रोटरी क्लब, तथा विभिन्न औषधि कम्पनीहरूको आर्थिक र प्राविधिक सहयोगमा यो अभियान अघि बढिरहेको संघले जनाएको छ।

अभियानको पहिलो चरण रोहिणी गाउँपालिकाबाट सुरु भई मायादेवी, कोटहीमाई लगायत अन्य गाउँपालिकाहरूमा विस्तार गरिने केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले बताए। अभियान सञ्चालनका लागि अनुमानित ३० देखि ४० लाख रुपैयाँ खर्च लाग्नेछ, जसलाई सहयोगी संस्थाहरूबाट व्यवस्थापन गरिने जनाइएको छ।

अध्यक्ष सिलवालले भने, “यो अभियानले रक्तदानलाई जनजीवनको संस्कृतिमा रूपान्तरण गर्ने मात्र होइन, रुपन्देहीलाई उदाहरणीय जिल्ला बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।”

पत्रकार सम्मेलनमा नियमित रक्तदाता संघका केन्द्रीय महासचिव दीपक अधिकारी, रुपन्देही शाखाका उपाध्यक्ष भास्कर शाही, संघका प्रेस सल्लाहकार राजेन्द्र जंग रायमाझी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like