निजी क्षेत्र फस्टाउन नसक्दा नेपाली युवा रोजगारी खोज्न खाडी जानु परेको छ : अध्यक्ष ढकाल

by समतल अनलाइन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने टिप्पणी गरेका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायद्वारा आयोजना गरिएको तेस्रो ‘स्टार्टअप नेसन २०३०’ सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

सरकारले उद्यमशीलता विकास गर्नुपर्ने समयमा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने उनको भनाइ छ । ‘हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन् । ती युवाहरू नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन् । हामीले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन,’ उनले भने, ‘मलाई पूर्ण विश्वास छ, सम्माननीय प्रधानमन्त्री ज्यूले निजी क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्नु हुनेछ । उहाँले निजी क्षेत्रप्रति देखाउनु भएको सदासयताका लागि धन्यवाद पनि दिन चाहन्छु ।’

अध्यक्ष ढकालले निजी क्षेत्र हेर्ने निकायको सन्दर्भमा थप नियामक थप्न नहुने बताए । अध्यक्ष ढकालले भने, ‘संसद्मा विचाराधीन, भ्रष्टाचार निवारण ऐन र अख्तियारले निजी क्षेत्र हेर्ने विषयलाई हामीले गरेको मागलाई सकारात्मक रूपमा लिनु भएको छ । निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक थप्नु आवश्यक छैन। ’

सरकारले बजेटमा एक अर्ब २५ करोड रुपैयाँ स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको धन्यवाद दिए । ‘स्टार्ट अपका लागि विनियोजित रकम प्रभावकारी कार्यान्वयन र आवश्यकता भएका युवाहरूसम्म पुग्ने विश्वास लिएको छु । यसका लागि हामीले युवाहरूलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरू स्थापना गर्नुपर्छ,’ उनले भने, ‘त्यसको शुरूआतका रूपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया थालेको छ ।’

 
 
  
 

You may also like