भ्रष्टाचार निवारण विधेयक गम्भीर र संवेदनशील विषय : गृहमन्त्री लेखक

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक गम्भीर संवेदनशील विषय भएकाले छिटो टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सहभागि हुँदै गृहमन्त्री लेखकले भने, ‘भ्रष्टाचार निवारण् सम्वन्धी ऐनको महत्व छ । यो गम्भीर र संवेदनशिल विषय हो,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस् भन्ने आग्रह गर्दछु ।’

विधेयकमाथि हालसम्मको छलफलमा केही महत्वपूर्ण विषयहरू पहिचान पनि भइसकेको गृहमन्त्री लेखकले बताए । त्यसमा ‘हदम्याद’ को कुरो गम्भीरताका साथ उठेको र ‘स्वार्थ बाझिएको’ विषय के गर्ने ? भन्ने विषय पनि उठेको बताए ।

‘यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडो भन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन-जुन विषयसँग सम्बन्धित छन् त्यो दफामा निर्णण गरेर निष्कर्शमा पुग्नुपर्छ । दफावार छलफलमा प्रवेश गरेपछि सरकारले धारणा राख्छ,’ उनले भने । छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषय राखे पनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको गृहमन्त्री लेखकले बताए ।

 
 
  
 

You may also like