आज राति ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । अहिले (बुधबार बेलुका) मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविदले जनाएका छन् ।

सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सडक । तस्बिरः नवीन गड्तौला /रासस
बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लामो समयपश्चात् आज परेको पानीले जलमग्न भएको महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सडकमा जमेको पानीको प्रर्वाह नगरी विद्यालय जाँदै विद्यार्थी । नालीको व्यवस्था नभएकाले सडकमा पानी जमेको हो । तस्बिर : सञ्जीत
मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटर भन्दा मुनि वर्षा भयो भने त्यसलाई भारी वर्षा भनिन्छ । यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको मौसम महाशाखाले जानकारी दिएको छ । मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट गाउँ तिप्लिङ आवतजावत गर्ने सडकमा खसेको पहिरो । रुवीभ्याली गाउँपालिका–४ लिस्नेखोलामा पहिरो खस्दा धादिङबेँसी तिप्लिङ सडक अवरुद्ध बनेको छ । त्यस क्षेत्रमा पुगेका सवारी र यात्रुहरु त्यही फसेका छन् । तस्बिर : शंकर श्रेष्ठ / रासस
जसमा भनिएको छ–बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान साथै मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like