यी हुन् सय पनि विद्यार्थी नभएका ५४५ क्याम्पस

by समतल अनलाइन

काठमाडौं। देशभर सय पनि विद्यार्थी नभएका ५४५ क्याम्पस छन् । सय पनि विद्यार्थी नहुनेमा विभिन्न विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस छन् ।

विश्वविद्यालय अनुदान आयोगले तयार पारेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इएमआइएस) २०१८ अनुसार सयभन्दा कम विद्यार्थी हुनेमा निजी कलेज धेरै छन् । २७४ निजी, २५२ सामुदायिक र १९ आंगिक क्याम्पसमा विद्यार्थी संख्या सयभन्दा कम रहेको आयोगले जनाएको छ । उसका अनुसार देशभर सामुदायिक ५०८, आंगिक १३७ र निजी ७८० गरी एक हजार ४२५ क्याम्पस छन् ।

सय एकदेखि दुई सयसम्म विद्यार्थी हुने क्याम्पसको संख्या २८१ छ । यो सूचीमा सामुदायिक एक सय एक, आंगिक १३ र निजी १६७ कलेज छन् । त्यस्तै, दुई सय एकदेखि पाँच सयसम्म विद्यार्थी हुने क्याम्पस २९३, पाँच सय एकदेखि दुई हजार विद्यार्थी हुने १८६ र दुई हजारभन्दा बढी विद्यार्थी हुने क्याम्पस संख्या २६ छ । देशभर ११ विश्वविद्यालय र ६ मानित विश्वविद्यालय (प्रतिष्ठान) छन् ।

उच्च शिक्षामा छात्राहरूको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्ना दरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । ‘जेन्डर पारिटी इन्डेक्स’को हिसाबले १.११ हो । स्नातक तहमा छात्राहरूको संख्या सबैभन्दा बढी छ ।

आयोगको रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार ७२९ रहेकोमा छात्र एक लाख ६८ हजार ८५७ र छात्रा एक लाख ९५ हजार ८७२ छन् । माथिल्ला तहमा भने छात्राभन्दा छात्रको संख्या बढी छ । स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेकामा छात्र २९ हजार ७७३ र छात्रा २६ हजार ५३१ छन् ।

त्यसैगरी एमफिलमा छात्र ७५८ र छात्रा १५८ छन् । पिएचडी अध्ययन गर्ने छात्र एक हजार ५८४ रहेकामा छात्राको संख्या भने ३२२ मात्र छ । सन् २०१८ मा कुल चार लाख २३ हजार ९९६ मध्ये छात्र दुई लाख एक हजार १५, र छात्रा दुई लाख २२ हजार ९८१ छन् ।

सबैभन्दा बढी विद्यार्थी सामुदायिक क्याम्पसमा अध्ययनरत छन् । सामुदायिक क्याम्पसमा ८३ हजार ८४, आंगिकमा ६१ हजार चार सय ९४ र निजीमा ७८ हजार चार सय तीन विद्यार्थी छन् ।

५० प्रतिशतभन्दा बढी विद्यार्थी प्रदेश ३ मा
सात प्रदेशमध्ये सबैभन्दा बढी उच्च शैक्षिक संस्था र विद्यार्थी प्रदेश ३ मा छन् । रिपोर्टअनुसार प्रदेश ३ मा मात्र ५०.८८ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा कम कर्णालीमा ३.३१ प्रतिशत विद्यार्थी छन् ।

सुदूरपश्चिममा ६.३३, प्रदेश २ मा ७.०५, गण्डकीमा ८.८८ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् । त्यसैगरी प्रदेश १ मा ११.४० र प्रदेश ५ मा १२.१६ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like