सीमाबारे भारतलाई नेपालको प्रस्ताव : पुस पहिलो सातासम्म वार्ता गरौं, भारत बोलेन

by समतल अनलाइन

काठमाडौं । भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको छ ।

यसै साता पठाएको पत्रमा नेपालले भारतबाट कालापानी समेटेर एकतर्फी सार्वजनिक गरिएको नक्साप्रति असहमति राख्दै वार्ताको मिति प्रस्ताव गरेको छ । तर, भारतले जवाफ पठाएको छैन ।

‘पुस पहिलो सातासम्म परराष्ट्र सचिवस्तरीय वार्ताका लागि औपचारिक प्रस्तावसहितको कूटनीतिक पत्राचार गरेका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौं समेत प्रस्ताव गरेर पठाएका छौँ ।’

बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकार माझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग वार्ताको प्रयास भइरहेको बताएका थिए । परराष्ट्रसचिव शंकरदास बैरागीले पनि वार्ताको प्रस्ताव गरेको र समन्वय गरिरहेको बताए ।

भारतले १६ कात्तिकमा नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच क्रिया–प्रतिक्रिया चले पनि कूटनीतिक प्रयास दुई सातापछि सुरु भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले वार्तामा बस्न भारत तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । दुई देशबीच सुस्ता र कालापानीका सम्बन्धमा विवाद समाधान गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र तोकिएको छ ।

भारतीय गृह मन्त्रालयले १६ कात्तिकमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलाई आफ्नो मानचित्रमा राखेको थियो । सरकारले २० कात्तिकमा विज्ञप्तिमार्फत नेपालको कालापानीलाई भारतीय नक्सामा राख्ने निर्णय मान्य नभएको स्पष्ट पारेको थियो ।

प्रधानमन्त्री ओलीले २३ कात्तिकमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेस, मधेस केन्द्रित राजपाका शीर्ष नेतादेखि पूर्वप्रधानमन्त्री र विज्ञले कालापानीबारे भारतसँग कूटनीतिक वार्ता गर्न सुझाब दिएका थिए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like