लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको निर्देशन ः सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहोस्

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुनेगरी काम गर्न निर्देशन दिएका छन् । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गरे ।

अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन गरेका हुन् । अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिए । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा उनीहरुले सेवाग्राहीसँग गर्ने व्यवहार, बोलीचाली तथा दक्षतालाई निगरानीमा राखिने उल्लेख गरे ।

अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई नियमित रुपमा सहजीकरण गर्दै आएको छ । अन्तर व्यैत्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीका अनुसार मँगलबार र विहिबार गरी दुई दिनसम्म सकजीकरण कक्षा सञ्चालन गरिएको थियो । अस्पतालको आकस्मिक कक्षा, ओपीडी तथा बीमा शाखामा कार्यरतहरुलाई सेवाग्राहीसँग गरिने व्यवहार र सहज सञ्चारको बारेमा जानकारी गराइएको थियो । सहभागीहरुले सेवा प्रदान गर्ने समयमा सेवाग्रीबाट आउने विभिन्न प्रतिक्रियाहरुको अनुभव बारे अन्तरक्रिया गरेका थिए । यसैगरी सेवा प्रदान गर्ने समयमा उत्पन्न हुने असहज परिस्थिती, त्यसको व्यवस्थापन र अनुभव बारे छलफल भएको थियो ।

 
 
  
 

You may also like