हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र संघ

by समतल अनलाइन

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् ।

राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गरेका हुन् । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन पनि त्यही वर्गमा पर्ने उनको भनाइ छ ।

गाजा स्ट्रिपमा भइरहेको आक्रमणले मानव जीवनमाथि र गैरसैनिकमाथि असह्य क्षति पुर्‍याएको राष्ट्रसङ्घीय अधिकारी ट्युर्कले बताएका बीबीसीले जनाएको छ । युद्धमा संलग्न पक्षहरूले पालना गर्नुपर्ने नियमहरू जेनेभा महासन्धिमा र अन्य अन्तर्राष्ट्रिय कानुन तथा सहमतिहरूमा उल्लेख गरिएका छन् ।

युद्ध अपराधको व्याख्यामा सेनाले जानाजान गैरसैनिकलाई आक्रमण गर्न नपाइने र घाइतेहरूको हेरविचार गर्नुपर्नेसँगै घाइते सैनिकहरूको समेत युद्धबन्दीका रूपमा छुट्टै अधिकारहरू हुनुपर्नेलगायत व्यवस्था छन् । युद्धमा कसैलाई बन्धक बनाउन पाइँदैन र त्यसलाई पनि युद्ध अपराध मानिन्छ । नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको स्थापना युद्ध अपराध र मानवताविरोधी अपराधका घटनाहरूको अनुसन्धान गर्नका लागि गरिएको हो । एजेन्सी

 
 
  
 

You may also like