यूएईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने

by समतल अनलाइन

काठमाडौं । यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ ।

कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा. पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ ।

सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइने विकास व्यवस्थापन विज्ञ जेन्टलले बताए । सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । यसले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पु¥याएको विज्ञको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले आयोगले आउँदो पञ्चवर्षीय योजना बनाउँदा जलवायुको अवधारणाअनुसार बनाउन प्रयास गरिरहेको बताए । वन मन्त्रालयका सचिव डा. दीपक खरालले प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रमा हुने दुई दिनको उच्चस्तरीय सत्रमा भाग लिने र नेपालका मुद्दाका बारेमा सम्बोधन गर्ने जानकारी दिए । नेपालबाट अहिलेसम्म तीन वटा सम्मेलनमा राष्ट्र तथा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ ।

सन् २००९ मा डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

 
 
  
 

You may also like