ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भारतमा एकै परिवारका पाँच नेपालीको मृत्यु

by समतल अनलाइन

सुर्खेत । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका पाँच नेपालीको ज्यान गएको छ ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार छन् ।
उक्त घटनास्थल कर्नाटक र महाराष्ट राज्यको बीच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिएको बताइएको छ । रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको स्रोतको भनाइ छ । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा थिए ।

 
 
  
 

You may also like