खाद्यले आजदेखि खसी–बोका र च्याङग्रा बिक्री गर्दै, बजारमा भन्दा किलोमा ३० रुपैयाँ महँगो

by समतल अनलाइन

काठमाडौँ । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (मंगलबार) देखि बिक्री गर्ने गरी खसी–बोका र च्याङ्ग्राको मूल्य तोकेको हो ।

ज्यूँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६८० रुपैयाँ र ज्यूँदो च्याङग्राको प्रतिकिलो मूल्य एक हजार २६० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो रहेको बताइएको छ ।

अहिले काठमाडौँका बजारमा खसी–बोका किलोको ६४० रुपैयाँदेखि ६५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले जानकारी दिएका छन् । च्याङग्रा भने अरु व्यापारीले बिक्री गरिरहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेको मूल्य सस्तो छ । व्यापारीहरुले च्याङग्रा किलोको एक हजार ३५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

कम्पनीले यो वर्ष दुई हजार खसी–बोका र एक हजार च्याङ्ग्रा खरिद गरी काठमाडौँ ल्याएको छ । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ । यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ । विभागले काठमाडौँका विभिन्न ११ ठाउँमा खसी–बोकाको परीक्षण गरी स्वस्थ खसी–बोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाइरहेको विभागले जानकारी दिएको छ ।

 
 
  
 

You may also like