गाजा सीमानजिकका सबै सहरलाई कब्जा गरेको इजरायली सेनाको दाबी

by समतल अनलाइन

काठमाडौं । इजरायलको सेनाले गाजा सीमा नजिकका सबै सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न संघर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ ।

इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता डेनियल हगारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए ।

हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेका छन् ।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गरेका हुन् । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like