अस्नैयामा लागुऔषध दुर्ब्यसनी सम्बन्धी सचेतना

by समतल अनलाइन

कञ्चन।क्रिएटिभ लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ४ अस्नैया रुपन्देहीको आयोजनामा लागु औषध दुर्ब्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। फ्रिडम फाउण्डेसन कपिलबस्तु, राजेश स्मृति फाउण्डेसन र संकल्प समूह, सैनामैनाको संयुक्त सहकार्यमा सो कार्यक्रम भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापाले किशोर किशोरी अवस्था निकै सम्बेदनशिल उमेर भएको र यस उमेर समूहका किशोर किशोरीहरुले अभिभावक, शिक्षक तथा अग्रजहरुले गरेका सकारात्मक कार्यहरुको सिको गर्नु पर्ने बताउनु भयो। बिद्यालय तहमा लागुऔषध दुर्ब्यसनी सम्बन्धी शिक्षालाई बढी प्राथमिकता दिएमा बिधार्थीहरु असल नागरिक बन्ने कार्यपालिका सदस्य थापाले उल्लेख गर्नु भयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले लागुऔषध दुरुपयोग र त्यसबाट हुने ब्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा पर्ने असरहरुका बारेमा जानकारी दिनु भएको थियो। कुन लागु औषधको दुरुपयोगले के कति असर गर्छ र लागुऔषध दुरुपयोग तथा किनबेच गर्नेहरुलाई हुने कानुनी उपचारबारे प्रहरी निरीक्षक यादवले जानकारी दिनु भएको थियो।

यसैगरी पुर्व लागुऔषध सेवनकर्ताहरु तथा फ्रिडम फाउण्डेसनका हेमन्त थापा, राजेश स्मृति फाउण्डेसनका किरन थापा र संकल्प समूहका युवराज पुनले लागुऔषध दुरुपयोग गर्दा हुने मानसिक, शारिरीक तथा पारिवारिक उत्पिडन र त्यो उत्पिडनबाट मुक्त हुन कठिनाईबारे जाकनकारी दिनु भएको थियो। लागुऔषध दुरुपयोगले किशोर किशोरी अवस्थामा देखेका सबै सपनाहरुको अन्त्य गरिदिने भएकोले अभिभावकहरुको सल्हाह र मार्गनिर्देशन शिरोधार्य गर्नु पर्ने बिधार्थीहरुलाई सुझाव दिनु भएको थियो। लागुऔषध दुरुपयोग दुर्ब्यसनीको शुरुवाती अवस्थामा आफ्ना अभिभावक, शिक्षक र अग्रजहरुको मार्गनिर्देशनलाई लत्याएर खराव संगीसाथीहरुको संगतमा सामेल हुने भएकोले बिधार्थीकालबाटै असल र खराव को हो भन्नेबारे अभिभावकहरुले सहजै चिनाउन सक्ने भएकोले अभिभावहरुको मार्गनिर्देशनको पालना गर्नु अत्यन्त जरुरी रहेको समेत पुर्व लागुऔषध सेवनकर्ताहरुले अनुभव बताउनु भएको थियो।

क्रिएटिभ लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक हेम बहादुर थापाको संचालनमा भएको कार्यक्रममा बिधार्थी तथा अभिभावकहरुको सहभागी रहेको थियो। कार्यक्रम अस्नैया युवा क्लवको कार्यालयमा सम्पन्न भएको थियो।

 
 
  
 

You may also like