नेपालीको शीर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको छ : प्रधानमन्त्री

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने संकल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन् ।

नुवाकोटके पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गरे । सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।’

इतिहासमै पहिलोपल्ट नेपालीको शीर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उनले बताए । आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उनको भनाइ छ । ‘नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हुँदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ’, उनले भने, ‘भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुशी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुशी छु ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गरे । उनले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताए । ‘जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ । यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु’, उनले भने, ‘देशको सात सय ५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य रहेको छ । बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिनेछ ।’

आगामी आव २०८०/८१ का लागि विनियोजित बजेट आवश्यकता र मागमा आधारित रहेको अर्थमन्त्री डा. महतको भनाइ छ । ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा बढी बजेट गएको भन्ने चर्चा र बहस संसददेखि संसद् बाहिरसम्म चलिरहेको अवस्था छ । तर देशको आवश्यकतालाई प्राथमितामा राखेर बजेट विनियोजन भएको छ’, उनले भने, ‘विदेशी सहयोग आओस् नआओस् टोखा–छहरे सुरुङ मार्ग बनाउने प्रक्रियालाई अगाडि बढाउनेछौँ ।’

उक्त कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा र प्रदेशससभा सदस्यमा निर्वाचित सदस्यको सहभागिता रहेको थियो । लाकरी भञ्ज्याङमा निर्माण गरिएको २७ कोठे आधुनिक भवन निर्माण गर्न रु छ करोडभन्दा बढी लगानी भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानाकारी दिए । २० रोपनी जग्गामा कार्यालय भवन निर्माण गरिएको र भवन निर्माणका लागि स्थानीयवासीले जग्गा समेत उपलब्ध गराएका छन् ।

 
 
  
 

You may also like