भैरहवामा मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा वडा नम्बर १, ३ र ८ विजयी

भैरहवा।रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ । उद्घाटनका अवसरमा भएका तीन खेलमा वडा नम्बर एक १० विकेट, वडा नम्बर आठ ६ विकेट र वडा नम्बर तीन ५२ रनले विजयी भएका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा निर्धारित १२ ओभरको खेलमा टस हारेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ६ वकेको क्षतिमा ६० रन बनायो । उसका लागि राजु रौनियारले नटआउट र अजय यादवले ११–११ र सुनिल चौधरीले १० रन बनाए । वडा नम्बर १ का सोयल खानले ३, राजेन्द्र यादव, एजाद खान र सागर थापाले १–१ विकेट लिए । जवाफमा वडा नम्बर १ ले ४.४ ओभरमा विना क्षति ६१ रन बनाउँदै जित निकाल्यो । उसका लागि एजात खानले ३४ र अन्तिम थापाले २३ रन बनाए । सोयल खान म्यान अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा ७० रन बनायो । उसका लागि मोहम्मद रफिकले ३२ र अक्षय रानाले १३ रन बनाए । बलिङमा वडा नम्बर ८ का सुमन अधिकारीले ३, फरमान मल्लिकले २ र कृष्ण कुँवरले १ विकेट लिए । जवाफमा वडा नम्बर ८ ले ९.४ ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाई जित निकाल्यो । उसका लागि सागर यादवले २६, इमरान खानले १४, आषिश सिंहले १३ र सयवान शेषले नटआउट १२ रन जोडे । बलिङमा वडा नम्बर ७ का भवर शाहीले २, अक्षय राना र आकाश काफ्लेले १–१ विकेट लिए । सुमन अधिकारी म्यान अफ द म्याच भए ।

यस्तै, तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय २९ रन बनायो । उसका लागि सुजन न्यौपानले ४९, खुश्बुउद्दिन धुनियाले र आषिश रोकाले समान २६–२६ रन बनाए । बलिङमा वडा नम्बर १० का दिनेश साहनीले १ विकेट लिए । जवाफमा वडा नम्बर १० सबै विकेटको क्षतिमा १०.५ ओभरमा ७७ रनमै समेटियो । उसका लागि हरिकेष मौर्यले नटआउट ३१, हरिशंकर मिश्राले १० रन बनाए । बलिङमा वडा नम्बर ३ का अभिनाष अली, मैनउद्दिन शेष, अर्जुन चौहानले समान २–२ विकेट लिए । म्यान अफ द म्याच सुजन न्यौपाने भए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई २५ हजार ५ सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजारसहित ट्रफी र मेडल, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५–५ हजारसहित ट्रफी र मेडल तथा प्रत्येक खेलमा १ जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगिता नगरपालिकाका १३ वटा वडाका १३ टीम सहभागी छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले नगर क्षेत्रमा हुने यस्ता खेलकुदले नयाँ खेलाडी उत्पादन र खेलाडीको खेल कौशललाई बाहिर ल्याउन मद्दत पुग्ने जनाए । नगर प्रमुख इश्तियाक अहमद खानले खेल क्षेत्रको विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिएर बेलाबेला विभिन्न प्रतियोगिता आयोजना गरिरहेको जनाए । उनले खेलले राष्ट्रलाई एकताबद्ध गर्ने र विश्वभर चिनाउन मद्दत पुग्ने जनाए । नगर उपप्रमुख उमा अधिकारीले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा महिला खेलाडीहरुको प्रोत्साहनका लागि विद्यालयस्तरीय उपमेयर कपको पनि आयोजना गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

 
 
  
 

You may also like