भारतले कृत्रिम ‘तिरतिरे’ धारा बनाएर सीमा भन्दैछ : परराष्ट्रमन्त्री

by समतल अनलाइन

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले भरखर जारी गरेको नयाँ नक्सा सत्य नभई कृत्रिम भएको बताएका छन् । यस्ता कृत्रिम नक्सालाई नेपाल नमान्ने बताएका छन् ।

आइतबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले भारतले कृत्रिम धारा बनाएर नेपालको नक्सा मिच्न खोजिएको बताए । ‘नेपालको सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदीसम्म हो, उनले भने, ‘भारतले एउटा सानो कृत्रिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

मन्त्री ज्ञवालीले भारतले बलमिचाइँ गरेको र एकपक्षीय निर्णय सरकारले नमान्ने र सच्याउने पहल गर्ने बताए । ‘भारतले एकपक्षीय रूपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ हो । यसलाई हामीले अस्वीकार्य भनेका छौँ, उनले भने, ‘भारतले बलमिचाइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको छ । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने छ ।’

यसैगरी मन्त्री ज्ञवालीले हिजोको सीमित स्रोत साधनका कारण नेपालको अनुपस्थितिको फाइदा उठाउँदै भारतले कालापानी क्षेत्रलाई हडप्ने प्रयन्त गरेको बताए । विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता यस्तो समस्या निम्तिएको भन्दै मन्त्री ज्ञावालीले अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत बताए ।

मन्त्री ज्ञवालीले भारतसँग नेपालको १२ सय किलोमिटर जमिनमा आधारित सीमा रहेको बताउँदै ६ सय किलोमिटर नदीको प्रवाहमा आधारित रहेको पनि उल्लेख गरे । मन्त्री ज्ञवालीले नेपाली भूमिहरु नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीमा भएको अतिक्रमण भारले २२ वर्षअघि नै स्वीकारेको बताए ।

मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि सबै पिल्लरहरुमा ग्लोबल पोजिस्निङ सिस्टम (जिपिएस) जडान गर्नेबारे छलफल भइरहेको पनि उल्लेख गरे । नेपालले कुनै पनि छिमेकीको चित्त दुखाएर समस्या समाधान नहुने अडान राखेको भन्दै उनले नेपालको राष्ट्रिय हित महत्वपूर्ण रहेको जिकिर गरे ।

ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले सीमा समस्याको दिर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए ।

अनेरास्ववियुले नेपाली भूमीमा राखिएका भारतीय सेनाहरुलाई तत्कालै फिर्ता पठाउनका लागि कुटनीतिक पहलकदमी सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यति खेर भारतले जारी गरेको नयाँ नक्साको विरोधमा नेपालमा चौतफी विरोध भैरको छ । विभिन्न राजनीतिक दल सम्बद्धका सङ्गठनहरूले विरोध प्रदर्शन जारी राखेको छ ।

 
 
  
 

You may also like