आजको राशिफल : कात्तिक २५ गते, सोमबार

by समतल अनलाइन

वि.सं.२०७६ साल कात्तिक २५ गते । सोमबार । इस्वी सन् २०१९ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि चतुर्दशी,२८ घडी ५३ पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र अश्विनी,३४ घडी ३२ पला,बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त भरुणी । योग, सिद्धि १५ घडी २३ पला,दिउसो १२ बजेर ३१ मिनेट उप्रान्त व्यातिपात । करण वणिज,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा राक्षस योग । चन्द्रराशि मेष । काठमाडौँमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०४ पला । शिव–वैकुण्ठ चतुर्दशी व्रत। डोटीमा केदार पूजनोत्सव। दिपायलमा जाँत। भागेश्वर मेला। धादिङमा किरान्चोक कालिका भगवती यात्रा। फाल्गुनन्द जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरामाईलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाईकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईकन पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । कृषि तथा सहकारी पेसा व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।

 
 
  
 

You may also like