भैरहवा ।नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को बुधबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले न्यु होराइजन क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलको टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ४५.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय १४ रनको सामान्य योगफल बनायो । उसका लागि प्रकाश गिरीले २१, अमर मिश्राले १९, इजाजउल हकले १५, विक्रम सिंहले ११ र निश्चल पराजुलीले १० रन जोडे । बलिङमा मेलवर्नका मोहम्मद हुसेनले ३, सन्देश जिसी र रोशनलाल गुप्ताले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।
प्रतिउत्तरमा मेलवर्नले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनाई लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा शिवकुमार मौर्यले २५, मोहम्मद हुसेनले नटआउट २२, बिष्णु कटरियाले २१, रोशन थामीले २० र सिद्धार्थ अधिकारीले ११ रनको योगदान गरे । बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुशान भारीले २–२ तथा महेश भर, सुमित पराजुली र विप्रसन केसीले समान १–१ विकेट लिए । मेलवर्नका मोहम्मद हुसेन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।
चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।