हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज (बुधबार) दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ । प्रदेश–१ को हिमाली भू–भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।

हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । यसैबीच काठमाडौंमा आज (बुधबार) बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो ।

यसअघि हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । यद्यपि, आज पनि पौने ९ बजे तापक्रम बिहान पौने ६ बजेको भन्दा केही कम हुन सक्छ ।

 
 
  
 

You may also like