जनप्रतिनिधि नै अटोरिक्सा चालक

by समतल अनलाइन

रमेश विश्वकर्मा
गुल्मी । पछिल्लो समय जनताका समस्या समधान र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरु सौखिन र सुविधाभोगी बन्दै गएका छन् । चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका जनप्रतिनिधिहरु आफैलाई सुविधा थप्न लागिपरेका हुन् । सवारी साधन, विदा सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडि देखिन थालेका छन् ।

जनप्रतिनिधिहरु उत्तरदायी हुनुको सट्टा सुविधाभोगी बन्दै गएको प्रति नागरिहरुमा चिन्ता र आक्रोश पैदा भइरहेका बेला जिल्लाका एक जनप्रतिनिधिले भने व्यक्तिगत लगानीमा अटोरिक्सा खरिद गरी यात्रुहरुलाई सेवा दिदैँ आएका छन् । केही जनप्रतिनिधिहरुले सामान्य सवारी साधनले नै काम चल्ने अवस्थामा सरकारी कोषबाट बढी सुविधाका सवारी साधन खरिद गर्ने होड नै चलेको बेला रेसुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य बाबुराम नेपालीले भने आर्थिक उपार्जनका लागि अटोरिक्सा खरिद गरी सञ्चालन गर्दै आएका हुन् । रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास स्थायी घर भएका नेपाली चार वर्ष विदेशमा बसी गाउँघरकै समाजसेवा, राजनीति र व्यवसायमा जोडिन पुगेका छन् ।

गुल्मीदरबार गाउँपालिका चारपालको ठूलापोखरामा व्यवसायिक रुपमा जुत्ता पसल सञ्चालन गर्दै आएका उनले जुत्ता पसलले मात्र जिविका चलाउन गाह्रो परेपछि आफुसँग भएको मोटरसाईकल बेची थप रकम ऋण खोजेर अटोरिक्सा खरिद गरेका हुन् । नेपालीले दैनिक रुपमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाको खज्र्याङ्गदेखि चारपाला र घुम्तीसम्म अटोरिक्सामा यात्रुहरु बोकेर हिड्ने गर्दछन् ।

उनले मोटरसाईकलमा यात्रा गर्दैगर्दा धेरैजसो वृद्ध बाआमाहरु त्यो बाटोमा हिडिरहेको देख्दा आफुलाई दुःख लागेर आएको सुनाए । नेपालीले ती वृद्धवृद्धाहरुको सेवा पनि हुने र आफ्नो व्यवसाय हुने सोचेर अटोरिक्सा सञ्चालनमा ल्याएको बताए ।

अटोरिक्सा सञ्चालनमा ल्याएपछि वृद्धवृद्धाहरुलाई गन्तव्य स्थानसम्म पुग्न सहज भएको छ । उनले वृद्धवृद्धाहरुलाई अटोरिक्सामा यात्रा गराए वापत कुनै पनि शुल्क नलिने गरेको बताउँछन् । अन्य यात्रुहरुबाट भने उनले केही शुल्क लिने गरेका छन् ।

नेपालीले काम कुनै सानो ठूलो नहुने बताए । उनले भने ‘कतिपयले मलाई नगरको मन्त्री जस्तो मान्छे, तँलाई किन अटोरिक्सा चलाउनु प¥यो भन्ने गर्दछन् ।’ अरुले जे भने पनि उनी पछि हटेनन् । काम गरेर खानलाई केहीं पनि हँुदैन, काममा सम्मान हुनुपर्छ भन्दै उनले जस्तोसुकै काम भएपनि त्यसलाई व्यवसायिक रुपमा लगाई स्वदेशमै केही गर्न युवाहरुलाई सुझाव दिन्छन् ।

नेपालीले ५ लाख ७० हजारमा उक्त अटोरिक्सा खरिद गरेका हुन् । उनले गत वैशाख महिनादेखि नियमित अटोरिक्सा चलाउन थालेका छन् । अटोरिक्सा सञ्चालनबाट दैनिक एक हजारदेखि दुई हजारसम्म आम्दानी गर्न सफल भएको नेपाली बताउँछन् । उनले सरदर महिनामा ३० देखि ३५ हजारसम्म आम्दानी गर्ने गरेको बताए ।

अटोरिक्सा आफै सञ्चालन गर्दै आइरहँदा उनी सामाजिक कार्यमा पनि निरन्तर रुपमा संलग्न रहेका छन् । उनले भने ‘अटोरिक्सा सञ्चालन मेरो पार्ट टाइम मात्र हो । यसरी मैले अटोरिक्सा सञ्चालन गर्दा मलाई सन्तुष्टि नै मिलेको छ ।’ निर्वाचनको क्रममा जनताको पक्षमा काम गर्ने र विकास निर्माण गर्ने प्रतिवद्धता गरेर निर्वा्चित भएका जनप्रतिनिधिहरुले नेपालीको कामको अनुशरण गर्नु जरुरी छ ।

 
 
  
 

You may also like