सयपत्री गोल्डकप आजदेखी सुरु आयोजक सयपत्री विजयी

by समतल अनलाइन

बुटवल । स्व. ज्ञान बहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक सयपत्री युवा क्लब विजयी भएको छ ।

मंगलबार भएको खेलमा सयपत्रीले नवलपरासी–११ लाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको १५ औ मिनेटमा नवलपरासीका रोहित थारुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर सयपत्रीका योङ दोर्जेले खेलको २१ औ मिनेटमा बराबरी गोल गरे ।

निर्धारित समयमा थप गोल हुन सकेन र खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा सयपत्रीका गोलकिपर रेम्बो चौधरीले नवलपरासीका आशिष मगर र निराजन क्षेत्रीको प्रहारलाई विफल पारीदिए । सयपत्रीका विश्वास मगर, सरोज योन्जन, सुरज घतान र टंकु लामाको प्रहार गोलमा परिणत भएको थियो । भने विश्व अधिकारीको प्रहारलाई नवलपरासीका गोलकिपर अजित कुमार चौधरीले रोकिदिएका थिए । नवलपरासीका सबि गुरुङ र सुरज आलेले गोल गरेका थिए ।

खेलमा आयोजक सयपत्रीका योङ दोर्जे म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैया, उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष कमल रानाले बताए । प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए । हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ । विसं. २०७१ मा तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो ।

प्रतियोगितामा नवलपरासी–११, आयोजक सयपत्री युवा क्लब, पाल्पा–११, फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्यायइज रहजर, सुनौलो संगम युवा क्लब देविनगर, लिस्नु युवा क्लब कोटिहवा, चितवन–११, सिम्रिक युवा क्लब कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरि १२ टिमले भाग लिने छन ।

बुधबारको सुनौलो संगम युवा क्लब देविनगर र पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका बिचमा खेल हुने क्लबका सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको छ ।

कार्यक्रमको पाच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रदेशमा खेलकुद परिषद गठन गर्ने तयारी गरेको बताए । प्रदेश सरकारबाट खेलकुदको पूर्वाधार विकासमा बजेट बिनियोजन गरेको भन्दै उनले खेलकुदमा सम्बद्ध ब्यक्तिहरुको क्रियाशिलता र जागरुकता जरुरी रहेको बताए ।

नेपाली खेल विकासमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अब सरकार पनि खेल क्षेत्रको पूर्वाधारसंगै खेलाडीको विकासमा लागेको बताए ।

 

 
 
  
 

You may also like