सयपत्री गोल्डकप भोलीबाट

by समतल अनलाइन

बुटवल । सयपत्री युवा क्लबले चौथौ संरस्करणको फुटबल प्रतियोगिता गर्ने भएको छ । स्व. ज्ञान बहादुर गुरुङको स्मृतिमा कार्तिक १९ गतेबाट चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको टिम दर्ता, रेफ्री ब्यवस्थापन, खेलमैदान तयारी, प्याराफिट निमार्ण लगायतका सबै काम सकिएको क्लबका अध्यक्ष कमल रानाले बताए । प्रतियोगिताको उपाधि विजेता नगद २ लाख २ हजार २ सय २२ रुपैयासहित कप, प्रमाणपत्र, मेडल पाउने उनले बताए । तेस्रो संस्करणमा प्रथम पुरस्कार नगद १ लाख १ हजार १ सय ११ रुपैया रहेको थियो । समयसापेक्ष पुरस्कार राशी दोब्बर वृद्धि गरिएको उनले बताए ।

यसैगरि उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयासहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए ।

हरेक प्रतियोगितामा एक जना म्यान अफ दी म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ । विसं. २०७१ मा तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो । प्रतियोगितामा नवलपरासी–११, आयोजक सयपत्री युवा क्लब, पाल्पा–११, फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्यायइज रहजर, सुनौलो संगम युवा क्लब देविनगर, लिस्नु युवा क्लब कोटिहवा, चितवन–११, सिम्रिक युवा क्लब कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरि १२ टिमले भाग लिने छन ।

रामनगर खेलमैदानमा कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको क्लबका सचिव सन्तोष गुरुङले बताए । उद्घाटन खेलमा नवलपरासी ११ र सयपत्री युवा क्लबका बिचमा खेल हुने छ । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगर फुटबल खेलमैदानमा हुने प्रतियोगितामा दर्शकको सुविधाको लागि चार वटा प्याराफिट निमार्ण गरिएको छ । जहा करीब ३ हजार दर्शक अट्ने गरि ब्यवस्था गरिएको छ ।

प्रतियोगिता हेर्न वृद्धवृद्धा, महिला, असक्त र बालबालिकाहरुलाई प्रवेश निशुल्क गरिएको छ । विसं. २०४८ सालमा स्थापना भएको क्लबले सामाजिक कार्य समेत गर्दै आएको छ ।

 
 
  
 

You may also like