‘मतदाताका आशा र विश्वास मर्न दिने छैन’-प्रदेश सभा सदस्य उम्मेदवार प्रदिप पन्त[ अन्तर्वार्ता]

by समतल अनलाइन

ईञ्जिनियरिङ पेशाका प्रदिप पन्त अहिले प्रदेश सभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. २ (ख)बाट उम्मेद्वार हुनुहुन्छ । हाम्रो नेपाली पार्टी (लौरो) अभियानका पन्त पुराना दल र तीनका नेताहरुबाट मुलुकको रुपान्तरण र विकास सम्भव नभएको बताउनु हुन्छ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउन लभिङ गर्दै आएका पन्तले त्यसलाई आफ्नो चुनावी एजेण्डा पनि बनाउनु भएको छ । चुनाव प्रचार–प्रसारको अन्तिम दौडमा रहेका पन्तसंग गरिएको कुराकानीको सम्पादित अंश ।

चुनाव प्रचार–प्रसारको अन्तिम दौडमा हुनुहुन्छ । परिणामको सम्भावित परिदृश्य कस्तो देख्नु भएको छ ?

समग्रतामा अहिलेसम्म राम्रो देखिएको छ । आज प्रचार–प्रसारको अन्तिम दिन भएकाले प्रचारप्रसार गर्ने, मतदातालाई भेट्ने क्रममै छौं । प्रचारप्रसारको लागि समय पनि अप्रयाप्त भयो । डक्टरसापको (डा. निकोलस भुसाल) विचमा भएको खिचातानीले गर्दा प्रचार प्रसारको लागि प्रयाप्त समय दिन पनि सकिएन । अहिलेसम्म हेर्दा मतदाताले हामी प्रति देखाएको सद्भाव एकदमै राम्रो छ । एमाले, काँग्रेस, माओवादी, राप्रापा सबै खाले दलमा संगठित भएकाहरुले पनि हामीलाई राम्रो सद्भाव देखाउनु भएको छ, आशिर्वाद दिनु भएको छ । जे होस चुनावी माहोल राम्रो बनिरहेको छ ।

अन्य दलका उम्मेदवार र तपाईहरुलाई मतदाताले गर्ने व्यवहारमा कस्तो भिन्नता पाउनु भयो ?

वास्तवमा मतदाताले परिवर्तन खोजेका छन् । त्यो परिवर्तनको संवाहक हामी बन्न चाहन्छौं । उहाँहरुले दशौं विसौं वर्षदेखि हाम्रो मताधिकार गलत प्रयोग भयो, जनताको अपेक्षा र चाहना अनुसारका कुनै पनि काम भएन भन्नुहुन्छ । परिवर्तनको पक्षमा ठूलो जनमत देखियो । मतदाताले परिवर्तन खोज्नु भएको छ, युवा खोज्नु भएको छ । मतदाताको प्रतिक्रिया सुन्दा अचम्म लाग्छ । टेस्टेड उम्मेद्वारलाई लखट्न नमिलेर मात्रै हो, नत्रभने लखेट्ने रहेछन् । तपाईलाई साथ दिन्छौं, राम्रो काम गर्नुहोला, युवाको ईज्ज्यत नफाल्नुहोला भन्नुभएको छ । जताततैबाट हामीलाई समर्थन जुटिरहेको छ, यसले हामीलाई धेरै उत्साहित पनि बनाएको छ ।
दलहरुका संगठित भोट छन्, तपाईसंग त्यो छैन ।

यसलाई कसरी लिनु भएको छ ?

मैले अगाडि पनि भनिसके, दलहरुमा मान्छे संगठित छन् । तर मतदान गोप्य हुन्छ । हामीलाई तिनै दलका मान्छेहरुले बचन दिनु भएको छ । सद्भाव देखाउनु भएको छ । र आशिर्वाद पनि दिनु भएको छ । तीनै संगठित दलमा पनि कार्यकर्ता विभाजित छन् । खासमा म आम मतदाताको कुरा गर्छु, दलका नेताप्रति कोही पनि सन्तुष्ट र विश्वस्त छैन । कुनै पनि व्यक्ति दलमा छ, दलभन्दा माथि राष्ट्र र राष्ट्रियता छ । त्यो भन्दा माथि स्वाभिमान पनि छ । दलका नेताहरु मतदाताप्रति जवाफदेही छैनन्, राष्ट्रियता प्रति प्रतिवद्ध छैनन् । मतदाताको स्वाभिमानमा खेलवाड गरिरहेका छन् । त्यसका कारण अहिले आम रुपमा विकल्प खोजिरहेका छन् । त्यो स्थानीय चुनावमा पनि देखिईसकेको छ । काठमाण्डौमा बालेन र धरानमा हर्क साम्पाङ त्यसै आएका होईनन् ।

चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

जित फरक फरक किसिमको हुन्छ । वास्तवमा हेर्ने हो भने मतदाताको माया, हामी प्रतिको विश्वास, सद्भाव र उहाँहरुले दिएको आशिर्वादका कारण हामीले जितिसकेका छौं । हामी भिजन सहित अगाडि बढेका छौं । एक त भिजन नै जित हो । सबैले परिवर्तन खोजेको छ । हामी प्रति सद्भाव पनि देखाउनु भएको छ । यसले चुनावी जित निश्चित छ । यो मेरो मात्रै जित होईन, आम मतदाताको जित हो । वैयक्तिक स्वन्त्रताको जित हो । तर मंसिर ४ गते हामीले कुर्नै पर्छ । आम मतदाताले हामीलाई जिताउनु हुने छ ।

चुनाव जितिसकेपछि तपाईका मुख्य योजनाहरु के के हुन् ?

शिक्षा निःशुल्क हुनुपर्छ । स्वास्थ्य निःशुल्क हुनुपर्छ । र यी कुराहरु गुणस्तरीय पनि हुनुपर्छ भनेर हिजोका दिनमा लड्दै आएको हो । विल्डिङ बनाउने, पूर्वाधार सम्पन्न बनाउने कुरा शिक्षा होईन । कुटीमै किन नहोस, शिक्षा गुणस्तरीय हुनु पर्छ । शिक्षा विल्डिङ बनाउने कला सिकाईनु पर्छ । मैले राईजिङ टेक्निकल कलेज पनि सञ्चालन गर्दै आएको छु । त्यहाँ ४÷५ जनालाई व्यक्तिगत रुपमा निःशुल्क पनि पढाएको छु । सबैजनालाई त सकेको छैन । युवालाई सीप सहितको शिक्षा चाहिएको छ । त्यस्तै स्वास्थ्यलाई पनि निःशुल्क र गुणस्तरीय बनाउन आवश्यक छ । आज शिक्षा र स्वास्थ्य चरम व्यवसायिक भएका छन् । यसलाई सुधार गर्ने कुरालाई प्राथमिकता दिएका छौं । यहाँ छाडा चौपायाको समस्या छ । तीन महिना पनि भन्दिन १ महिना मै यसलाई व्यवस्थापन गर्ने हामीमा क्षमता छ । त्यस्तै पूर्वाधारको कुरा हेर्ने हो भने सबै अस्तव्यस्त छ । म प्राविधिक पनि भएको कारणले गर्दा राम्रोसंग बन्न नसक्ने कारण थाहा छ । त्यसको गुणस्तर कायम गर्ने कुरामा चनाखो हुने छु । सुकुम्बासी समस्या छ । त्यसको पनि पारदर्शी काम गर्छु । म यहीको मान्छे हो । यहाँको विकासमा म पूर्ण रुपमा ध्यान दिने छ । गर्न सकिन्छ, अठोट हुनुपर्यो ।

अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?

आज चुनाव प्रचार प्रसारको अन्तिम दिन पनि हो । प्रायः सबैले माईन्ड सेट गरिसक्नु भएको छ भन्ने मलाई लागेको छ । यो चुनाव हो । फेरी त्यही राजनीतिक दलहरु हावी हुनको लागि विभिन्न तिकडम लगाएर भ्रमहरु छर्न थालिसकेका छन् । मैले आम मतदातालाई आग्रह गर्न चाहन्छु, ढुक्क भएर लौरोमा मतदान गर्नुहोस्, तपाईका आशा र भरोसा गुम्न दिने छैन । म यहिको मान्छे हो, तपाईका सुख–दुःखको सहयात्री बन्न चाहन्छु । मलाई पूर्ण आशा र विश्वास छ, तपाईहरुले पक्कै पनि मलाई मत दिनुहुने छ । तपाईका आशा र विश्वास मर्न दिने छैन ।

 
 
  
 

You may also like