थापाको यातायात मजदूरदेखि व्यबयायीसम्मको यात्रा

by समतल अनलाइन

मिना ढकाल
बुटवल । बुवा रामबहादुर थापा र आमा पवित्रा थापाको कान्छो सन्तानका रुपमा २०४४ सालमा चितवनको भरतपुर–१३मा जन्मिएका दिनेश थापा हाल लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघका अध्यक्ष हुनुहुन्छ ।                                                                 

सानै उमेरदेखि संर्घषको जीवन विताउदै आएका थापाले एसएलसीसम्मको पढाई चितवनमा सकेर २०५८ सालमा यातायात मजदुरको रुपमा बुटवल प्रवेश गरेको बताउनु भएको छ । उमेरले १५ औं वसन्तमा टेक्नासाथ संघर्षको मैदानमा दौडिरहेका थापा बुटवलमा आएर बिभिन्न स्थानमा ज्याला मजदुरी गरेर, बिभिन्न पसलमा काम गरेर जिवनलाई थप संर्घषमय बनाउदै लगेको बताउनु हुन्छ । सानै उमेरमा अरुको अधिनमा बसेर जाागिर खादै आफ्नो खर्च चलाउदै आएका थापाले करिव ६ वर्ष ज्याला मजदुरी र नोकरीमा समय विताए ।

२०६३ सालबाट एस.डी ट्रान्सफरबाट स्वरोजगार मजदुर बन्न सफल भएका थापाकी जीवन संगिनी मिना श्रेष्ठसँगको साथ र सहयोगले सफलताको सिंढी उक्लन सफल भएको बताउनु हुन्छ । हाल एक छोरा र एक छोरीका बाबुसमेत बनेका थापालाई पछिल्लो समय आफन्तहरुको पनि सहयोग रहेको छ । सबैको माया सद्भाव सहयोगले गर्दा आज सफलताको स्वाद चाख्न पाएको अध्यक्ष थापाको भनाई छ ।

तपाई आफुलाई स्वरोजगार ब्यबसायी भन्नु हुन्छ, यो यात्रा कसरी शुरु भयो ?

सन् २०१०बाट सुरू भएको हो मेरो यात्रा यातायात क्षेत्रको स्वरोजगार ब्यबसायीको रुपमा । शुरुमा करिब दुईबर्ष चालकको रुपमा बित्यो, यसअघि सहचालकको रुपमा काम गरेर गाडी चलाउन सिकेको थिएँ । तत्कालिन समयमा हाम्रो साना मझौला प्रकारको ढुवानी ब्यबसाय भर्खरै स्थापित हुने क्रममा थियो । दुईबर्षे रोजगारीको समयमा यस क्षेत्रलाई गहन रुपमा बुझ्ने अवसर एवम् अनुभब प्राप्ति भयो, योसंगै आफै मजदूर आफै ब्यबयायी बन्ने सोंच पलायो । जसलाई हामी स्वरोजगार ब्यबसायी भन्छौ । त्यो सोंचका साथ केहि रकम सर–सापट गरें, केहि बचत गरिएको पैसा मिलाई ५०% बैक ऋृण लिई सन.२०१२मा एक टाटा कम्पनिको एस (छोटा हात्ती) गाडी खरिद गरि स्वरोजगार ब्यबसायीको रूमपा मेरो यस क्षेत्रको दोस्रो यात्रा अघि बढेको हो ।

मजदुरदेखि ब्यबसायीसम्मको यात्रामा खेप्नु परेका समस्याहरु पनि छन ?

पहिलो कुरा आफु एक्लै र खाली हात थिएँ, बुटवलमा आफ्नो भन्ने कोही थिएन । लामो समयको संघर्षपछि धेरैलाई आफ्नो बनाउन सफल भएँ । दोश्रो कुरा मसँग पैसा थिएन, अथक मेहनत र संघर्षबाट केही मात्रामा भएपनि रकम संकलन गर्न सफल भएँ । लामो संघर्षपछि स्वरोजगार ब्यबसायी बने, त्यसपछि पनि समस्याहरु थपिए । काम गर्दै–गर्दा अनेकौं बाधा–अवरोधहरू आउनु स्वभाविक पनि हो भन्दै पाईला अघि बढाईरहेँ । हामी विशुद्ध यातायात ब्यबसायी क्षेत्रका भए पनि हाम्रा गाडीहरू निजी प्रयोजनका राता प्लेट दर्ता कायम हुन्थे । देशमा आयात गरिने र तत्कालिन लुम्बिनी अन्चलमा यस प्रकारका गाडीलाई भाडा प्रयोजनका लागि दिईने ब्यबसायीक कालो प्लेट दर्ता कायम नगर्ने कानुनी ब्यबस्था थियो । निजी प्रयोजन भनि ल्याईय पनि हाम्रा पिक–अप गाडीहरूको काम नै भाडा प्रयोजनमा हुने हो, यसरि खूल्ला रुपमा सन्चालन भएका हाम्रा गाडीहरूलाई बिभिन्न बहानामा ट्राफिक प्रहरी, प्रशासनबाट दुःख दिने कार्य हुन थाले । त्यसपछि हाम्रा गाडीहरु कालो प्लेटमा दर्ता हुनुपर्छ, निर्वाध रुपले चल्न पाउनु पर्छ भन्ने अभियानका साथ ब्यबसायीक संगठन निर्माणमा जुट्यौं र लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको स्थापना भयो ।

लुम्बिनी साना तथा मझौला ब्यबसायी संघको स्थापनाको उद्देश्य के हो ?

राष्ट्र निर्माणमा मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्र र हामी जस्ता साना मझौला व्यवसायीहरु जसले साना साना गल्लीमा, ठुलाठुला सवारी साधनहरु जान नसक्ने स्थानहरुमा पनि हाम्रा साना मझौला सवारी साधनहरु मार्फत सेवा दिइरहेका छौं । तर आफ्ना गुनासा तथा समस्याहरु राख्ने ठा“उ नपाएर भौंतारीई रहेको अवस्थामा एउटा संगठित संस्थाको आवश्यता महसुस भए अनुसार २०७० साल श्रावण १५ गते यस संस्थाको स्थापना भएको हो । तत्कालिन अध्यक्ष लक्ष्मण क्षेत्रीले नेतृत्व गर्नु भएको संस्थामा साना तथा मझौला खालका पिकअप सवारी धनीहरु करिव ६० जनाको सहभागितामा संस्था शुरु भएको थियो । यसरी एकजुट भई सवारी सञ्चालनका क्रममा एक आपसमा आईपर्ने समस्याहरुलाई संगठित रुपले समाधान गर्ने, एकआपसमा सद्भाव कायम गर्ने, अनुशासित ढंगले व्यवसाय सञ्चालन गर्ने र स्थानिय स्तरमा हर सम्भव नागरिकको दैनिक उपभोग्य बस्तुहरु सुरक्षितका साथ घर आंगनसम्म पु¥याई सर्वशुलभ दरमा सेवा दिने लगाएतका बिभिन्न उद्देश्यका साथ स्थापना गरिएको थियो ।
ब्यवसायिक हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्व समेत बहन गर्ने बारेमा पनि बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले २०७० साल माघ ८ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत दर्ता भई सञ्चालन गर्दै आएको छ । हाम्रो ढुवानी व्यवसायी संघ स्थापना कालदेखि नै कहिले राजनैतिक अफ्ठयारो, कहिले सामाजिक अप्ठेरो तथा कहिले कानुनी अप्ठेरो त कहिले दैवि प्रकोपको अप्ठ्यारो तथा हाल आएर २०७६ साल चैत्र ११ गतेबाट कोरोना भाईरसको संक्रमण जस्ता विषम परिस्थितिलाई चिर्दै संस्था सञ्चालन गर्दा निकै असहज हुँदाहुदै पनि मनलाई कठोर बनाई संघको हित साेंची अगाडी बढिरहेका छौ ।

संस्थाले के कस्तो सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ?

यस संस्थाले स्थापना कालदेखिनै आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान नै जीवनदान हो भन्ने मुलमन्त्र बनाएर वर्षमा ३ पटक रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । देशमा हुन सक्ने दैवीप्रकोप तथा भवितव्यमा हुन सक्ने जोखिम तथा क्षति न्यूनिकरण गर्नका लागि पनि संस्थाले बिभिन्न सरकारी गैरसरकारी संस्था र निकायहरुसँग सहकार्य गर्दै आफ्नो दायित्व निर्वाह गर्दै आएको छ । यसबिचमा हामीले बिभिन्न अनाथालयमा आश्रित अनाथ, असहाय बालबालिका र बिपन्नलाई सहयोग, बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई तिर्थ भ्रमण, बिपदजन्य घटना परेका संस्थाका सदस्य र सल्लाहाकारहरुलाई सहयोग लगाएतका कार्यहरु पनि गर्दै आईरहेका छौं । सामाजिक सेवाका लागि रुपन्देहीमा रहेको विभिन्न संस्थाको संञ्जालसंग सहकार्य गर्दै आईरहेको छ र यसलाई निरन्तरता दिदै आएको छ ।

पछिल्लो समयमा यातायात क्षेत्रका समस्या तथा चुनौतीहरु के–के छन् ?

कोभिड १९ को महामारी पश्चात व्यवसायी सदस्यज्यूहरुलाई सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । साथै नयाँ व्यवसाय सुरु गर्न चाहने व्यवसायीहरुका लागि अझै कठिन परिस्थिति सृजना भएको छ । जस अन्तर्गत बैंकिङ्ग क्षेत्रमा तरलता अभावका कारण देखाउदै बैंकले ऋण उपलब्ध नगराउने, यातायात व्यवस्था कार्यालयले आबश्यक रुट प्रमिट जारी नगरिदिने, हाम्रा पिकअप गाडीहरु साना तथा मझौला प्रकारका हुने र विशेष गरी बजार क्षेत्रमा आम जनता, व्यवसायी एवं उद्योगहरुलाई सेवा दिईरहेका छौं ।
यस्तो अवस्थामा हामीलाई बजार क्षेत्रमा उचित पाकिङ्गको स्थाई व्यवस्था गरिएको छैन । प्रति महिना ईन्धनको मूल्य बृद्धि हुदै जानु, मर्मत तथा सञ्चालन खर्च आम्दानीको तुलनामा उच्च रहनु लगाएतका कुराहरु हाम्रा मुख्य चुनौतिको रुपमा देखिएको छ । हामी यातायात व्यवसायीको मुख्य समस्या भनेकै दुर्घटना पश्चात भैपरी आउने समस्या हो । जसमा विमा दावी भुक्तानी छिटो छरितो नहुनु, कानून प्रशासनले आबश्यक निति अनुरुप सहयोग नगरिदिनु आदी समस्या र चुनौतीहरु पनि रहेका छन ।

तपाईंको कार्यकालका भावी कार्ययोजनाहरुः के के छन ?

संस्थाको कार्यक्षेत्र प्रदेशभर १२ जिल्लामा पुराउने लक्ष छ । सदस्यता बृद्धि गर्ने, आजिवन सदस्यता वितरण गर्ने, सदस्यता बुद्धिका लागि बिभिन्न क्षेत्र स्थानमा बृहत भेला तथा कार्यक्रमको आयोजना गरिने छ । पार्किङ्ग व्यवस्थापन सम्बन्धमा सिन्दुर होटल पछाडी मूख्य पाकिङ्ग स्थल रहने गरी स्थानिय सरकार बुटवल उप–महानगरपालिकाको प्रस्ताव अनुरुप हाललाई अस्थाई रुपमा सःशुल्क पाकिङ्ग स्थल कायम गराईने छ । साथै दुर्गा मन्दिर क्षेत्र ट्राफीक चोकमा स्थानिय वडा कार्यालय र स्थानियसँगको छलफलमा न्यूनतम १० देखि १५ वटासम्म गाडी पाकिङ्ग गर्न सकिने गरी व्यवस्था मिलाईने छ । नेपालको नमुना ट्रान्पोर्ट भिलेज नयाँ गाँउमा आबश्यक गाडीहरु सञ्चालन गर्न ढुवानी व्यवसायी संघ रुपन्देहीसँग संस्थागत रुपमा छलफल गरी उक्त स्थानमा पार्किङ्ग व्यवस्थापन गरी सञ्चालन गरिनेछ ।

 
 
  
 

You may also like