बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछुः नवनिर्वाचित मेयर पाण्डे [अन्तरवार्ता]

बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् ।

२०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रिय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भएका थिए । प्रस्तुत छ, बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा निर्वाचित भएका खेलराज पाण्डेसँग गरेको कुराकानी ।

बुटवलमा भारी मत अन्तरले जित हासिल गर्नुभयो, यहाँलाई बधाई छ । तत्कालका कामहरु के के गर्ने योजना बनाउनुभएको छ ?
मलाई मत दिएर विजयी बनाउनुहुने बुटवलका सम्पूर्ण बासिन्दालाई धेरै धेरै धन्यवाद र बधाई भन्न चाहन्छु । यो जित मेरोमात्रै जित होइन, यो जनताको जित हो । मलाई मत दिने र मलाई मत नदिनेहरुको पनि जित हो यो । बुटवलको विकास, समृद्धिका लागि बुटवलका बासिन्दाले मलाई जुन रुपमा प्रतिनिधि बनाएर उपमहानगरपालिकामा पठाउनुभएको छ त्यसलाई मैले पाँच वर्षसम्म जनताकै प्रतिनिधि बनेर काम गर्नेछु । म कहिले पनि नगरको शासकको रुपमा काम गर्ने छैन । म जसरी यो ५ वर्ष जनतामाझ थिएँ, जनताका समस्याहरु सुनिरहेको थिएँ, समाधानको प्रयत्न गरिरहेको थिएँ, त्यसबाट मलाई जनताले निर्णय गर्नसक्ने स्थानमा पु¥याउनुभएको छ । त्यसको भरपूर रुपमा सदुपयोग गरेर जनताका समस्यालाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमैसँग समाधान गर्दै अघि बढ्नेछु । बुटवललाई कुनै एउटा दल विशेष या गठबन्धन विशेषको कार्यालय बनाउने छैन । सबैको साझा फुलबारी बनाउनका लागि मेरो भूमिका रहनेछ । घोषणापत्रमा उल्लेख भएका योजनाहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य, समन्वय गरेर कुन ठाउँबाट अघि बढ्दा प्रभावकारी हुन्छ र अधिकार रहेको छ त्यसैगरी नै अघि बढाइनेछ ।

तपाइँ निर्णय गर्ने स्थानमा पुगेपछि चरणबद्ध रुपमा गर्ने काम के के हुन् ?
शुरुमा त मैले बुटवललाई सबै नागरिकको, सबै दलको, बुटवलबासीको साझा थलो बनाउनेछु । नागरिकले बुटवललाई आफ्नो कार्यालय हो भन्ने महसुस गर्नेछन् । दलहरुलाई त्यसको महसुस गराउन मिलन केन्द्र बनाउनेछु । हाम्रा नेताहरु वीपी कोइराला, पुष्पलाल, बुटवलका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानको शालिक बनाउनेछु । यसअघिका मेयरहरुलाई आउने, सल्लाह लिने, दिने थलो बनाउनेछु ।
विकासका हिसाबले मैले यसअघि जनतामाझ पुगेर भन्दै आएको कुराहरु चरणबद्ध रुपमा पूरा गर्दै जानेछौं । बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं । ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं । तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौं । मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी औद्योगिक क्षेत्रको काम अघि बढाउन भूमिका निर्वाह गर्नेछौं । सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ । यसबारे मैले त्यहाँका जनतासँग जे भनेको छु त्यसैअनुसार गर्नेछु । बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको पानी ल्याउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु र वडास्तरमा भूमिगत श्रोतबाट पानी निकालेर स्वच्छ खानेपानी वितरण हुनेछ । फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन समाधानको योजना छ । त्यसलाई पूरा गर्नेछु । घोषणापत्रमा भनेका कामहरुलाई चरणबद्ध रुपमा पूरा गर्न म प्रतिबद्ध छु ।

साना व्यवसायी, हाटबजार व्यवसायीलगायतको करमा छुट दिने, घटाउने कुरा गर्नुभएको थियो, यो पूरा गर्ने के योजना छ ?
व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाउने काम अघि बढाउनेछु । घरेलु फोहोर संकलन बापत लिइदै आएको दस्तुर घटाइने छ । घोषणापत्रमा पनि हामीले भनेका थियौं, त्यसअनुसारले नै काम अघि बढ्छन् । केही कामहरु तत्काल गर्न सकिने कामहरु छन् भने केही कामहरु चरणबद्ध रुपमा गर्दै जाने खालका छन् । ती कामलाई त्यसरी नै अघि बढाइनेछ ।

अन्त्यमा, बुटवलबासीलाई के भन्न चाहनुहुन्छ ?
म बुटवलबासीलाई खुलेर भन्न चाहन्छु, तपाइँको प्रतिनिधि बुटवलको प्रमुख बनेको छ । बुटवलका बासिन्दा रहेर अन्यत्र गई बसेको व्यक्ति हुनुहुन्छ भने म बुटवलमा आउनका लागि अनुरोध गर्छु । बुटवललाई हामीले राम्रा कामको उदाहरणीय शहर बनाउनुछ । त्यसका लागि मलाई पाँच वर्ष बुटवलबासीको साथ चाहिएको छ । मलाई निरन्तर सल्लाह, सुझाव चाहिएको छ । यहाँका हरेकले बुटवललाई कस्तो बनाउने भन्ने चासो र सरोकार राख्नुपर्छ । म सबैलाई बुटवललाई राम्रो बनाउनका लागि सल्लाह सुझाव दिन आह्वान गर्छु । बुटवलले क्षमता भएका व्यक्तिलाई कदर गर्छ र अरु धेरै क्षमतावान् व्यक्ति उत्पादन गर्छ भन्ने बनाउनुछ । हामी सबै मिलेर बुटवललाई हाम्रो बुटवल राम्रो बुटवल बनाउने हो । त्यसका लागि म अगुवाई गर्छु, नेतृत्व गर्छु, हामी सबै साथसाथ अघि बढ्नेछौं । र, फेरि एकपटक बुटवलबासीलाई बधाई दिन चाहन्छु, खुशीयाली मनाउन अनुरोध गर्छु र मलाई प्रतिनिधि मान्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।

 
 
  
 

You may also like