नेपाली सेनाकाे साढे तीन अर्बमा खरिद गरेको नयाँ विमान आज काठमाडौं आइपुग्दै

by समतल अनलाइन

काठमाडौं । नेपाली सेनाले इन्डोनेसियामा झन्डै साढे तीन अर्बमा खरिद गरेको नयाँ विमान आज काठमाडौं आइपुग्दै छ ।

सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि खरिद सम्झौता गरेको सीएन २३५–२२० विमान आज नेपाल आइपुग्ने भएको हो । सेनाका अनुसार उक्त विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौंका लागि उडेको छ । उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो ।

विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । यो रकम भनेको नेपाली करिब ३ अर्ब ३८ करोड रूपैयाँ हो । विमानलाई आवश्यकताअनुसार परिमार्जन र उपयोगमा ल्याउन सकिन खालको भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताउनुभयो ।

नेपाल आइसकेपछि नेपाली सेनाले पनि अन्तिम ग्रहणको लागि परीक्षण उडानलगायतका आवश्यक कुराहरु गर्नेछ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँग ३० मिलियन अमेरिकी डलर ९करिब तीन अर्ब ३८ करोड रुपियाँमा सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । नेपाली सेनासँग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् ।

 
 
  
 

You may also like