नेपाली चलचित्र ‘रे’ को टोली बुटवलमा

१७ साउन, बुटवल । आगामी साउन २४ गते प्रदर्शन हुन गइरेहको नेपाली चलचित्र ‘रे’ को टोली यतिबेला चलचित्रको प्रवद्र्धनमा लागि रहेको छ ।

निर्माता राजेन्द्र त्रिपाठी सहित कलाकारको टोलीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेको छ । टोलीले चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको सम्मेलनमा चलचित्र बारे जानकारी गराएको छ ।

चर्चित तथा पूराना कलाकार सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्रमा नायक दिवश धिताल र नायिका सुजाता थापाको नयाँ जोडी पनि मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको निर्देशन दिनेश पौडेलले गरेका छन् ।

उनी निर्दे्शित यो १९ औं चलचित्र हो । उनले यस चलचित्रमा नयाँ र फरक भन्दापनि पूरानै कथा वस्तुलाई फरक ढङ्गमा प्रस्तुत गरिएको बताए ।

उनले भने ‘जति चलचित्र बनाएपनि समाज र देश अनुसार बनाउने हो । तसर्थ कथाहरु दोहोरिन सक्छन् । तर,कलाकार, अभिनय र प्रस्तुती फरक हुन आवश्यकछ ।

हामीले पूराना कथामा नयाँपन दिन खोजेका छौं ।’ कलाकार सुनिल थापाले यस चलचित्रले नेपाली चलचित्र पनि व्यवसायिक बन्दैछन् भन्ने सन्देश दिने बताउँदै चलचित्रमा प्रविधि र जीवन्त अभिनयको समिश्रण रहेको बताए ।

उनले आफू पूरानो चामल जस्तै भएपनि टिमवर्कका कारण चलचित्रमा राम्रो भएको बताए । एक करोड २५ लाख लागत लागेको चलचित्रमा एनिमेशनको प्रयोग रहेको निर्देशक पौडेलले बताए ।
पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ, रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like