मदन भण्डारी स्मृति यु–१४ लिटल स्टार लिग क्रिकेट- उपाधि बुटवल टाईगर्सलाई

बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो । बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए ।
सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो । सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३.५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा सुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले पुरस्कार तथा प्रमाणपत्र र ट्रफि वितरण गर्नुभयो । रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए । समापन समारोहमा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख देव कुवर र केन्द्रिय सचिवालय सदस्य विनोद आचार्य, क्रीकेट विभाग प्रमुख शक्ति गौचन, जिल्ला अध्यक्ष मणिरत्न भण्डारी लगायतले बोल्दै उदियमान खेलाडीहरुलाई उज्जवल भविष्यको शुभकामना दिएका थिए ।

 
 
  
 

You may also like