निष्पक्ष र भयरहीत निर्वाचनका लागि सबैको प्रतिबद्धता आवश्यक : प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहीत बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न काभ्रेमा आएका प्रधानमन्त्री देउवाले मुलुक स्थानीय निर्वाचनको संघारमा रहेको भन्दै यसका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक पर्ने बताए ।

उनले नवनिर्मित प्रशासकीय भवनबाट जनतलाई दिने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । यस्तै तेमाल गाउँपालिकामा धार्मिक र पर्यटकीय सम्भावना भएको भन्दै उनले भकुण्डे-मेच्छे पौवा सडक, सुनकोसी खानेपानी लगायत स्थानीय आयोजनालाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

तत्कालीन संविधानसभाका सदस्य कांग्रेस जिल्ला सभापति तिर्थ लामाले तेमाल सम्भावनाको क्षेत्र भन्दै स्थानीय विकास निर्माणमा सघाउन कांग्रेस सभापतिको प्रतिबद्धता खोजेका थिए । तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको बताएका थिए । यसका लागि उनले प्रधानमन्त्रीसँग स्थानीय विकासका लागि सहयोग आवश्यक रहेको बताएका थिए ।

भकुण्डे-मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ गर्न, वौद्ध विश्वविद्यालय, भ्यूटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्रीसँग सहयोगको अपेक्षा गरेका थिए । पूर्वराज्यमन्त्री रहेका नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज सूर्यमान दोङले स्थानीय निर्वाचनसँगै संघ र प्रदेशको निर्वाचन गर्न सम्भव भन्दै प्रधानमन्त्रीलाई यसका लागि आग्रह गरेका थिए ।

 
 
  
 

You may also like