ओलीप्रति प्रचण्डको कटाक्ष : केही नेताहरु अझै गोरुगाडाकै सिद्धान्तमा छन्

सिन्धुली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्ष दल एमाले अध्यक्ष गणतन्त्र र परिवर्तनविरोधी भएको बताएका छन् । सिन्धुलीमा आयोजित कार्यक्रममा प्रचण्डले केपी ओलीलाई परिवर्तन विरोधीको संज्ञा समेत दिए ।

‘जतिबेला हामी लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अघि बढ्दै थियौं, त्यतिबेला यो देशमा अहिलेका ठूला भन्ठान्ने केही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरु गाडा चढेर अमेरिका जाने एउटै कुरा हो भन्थे । ती मान्छे अहिले पनि जिउँदै छन् । ती मान्छेहरु अहिले पनि गणतन्त्रविरोधी नै छन् । अहिले पनि गोरु गाडाकै सिद्धान्तमा छन् ।’

‘समावेशी र समानुपातिकता, देशका दलित, महिला, आदिवासी, मधेसी, जनजाति, उत्पीडित, महिलाले मौलिक अधिकार पाएको राज्यमा प्रतिनिधित्व भएको तिनीहरुलाई पचेको छैन । तिनीहरु यो संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन्,’ उनले भने ।

देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिनेहरु पनि धेरै रहेको उनले दाबी गरे । ‘तपाई हामी माओवादी र हिजो शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र वामपन्थीहरु एकजुट भएर अघि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुनसक्ने खतरा अहिले पनि कायम छ । खतरा अझै टरेको छैन,’ उनले भने ।

 
 
  
 

You may also like