राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् ।

सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सवका अवसरमा सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न परिषद्लाई निर्देशन दिए । ‘संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परीषद्लाई दिएको छ,’ उनले भने, ‘यस्तो महत्वपूणर् संवेदनशील भूमिका भएको परिषद्ले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र इमान्दारिताका साथ सम्पादन गरेको छ ।’

राष्ट्रको आन्तरिक सुरक्षा, प्रतिरक्षा चुनौती जस्ता संवेदनशील विषयलाई उच्च महत्व र प्राथमिकतामा राखी काम गर्न उनको निर्देशन थियो । ‘संविधानमा निर्दिष्ट भएबमोजिम राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समसामयिक सुरक्षा परिस्थितिलाई समेत मूल्यांकन गर्दै राष्ट्रिय सुरक्षाका दृष्टिले परिषद्ले गहन जिम्मेवारी निर्वाह गर्दै आएको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकिएको जानकारी दिँदै कार्यान्वयन गर्न आवश्यक रहेको बताए । ‘कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई छ । यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्छ भन्ने सचिवालयबाट अपेक्षा गरेको छु,’ उनले भने ।

 

 
 
  
 

You may also like