गठबन्धनको भरमा चुनाव जितौंला भन्ने भ्रम दिमागबाट निकालिदिनुस् : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन ‘लाइफ एण्ड डेथ’ भएको बताएका छन् ।

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचनलाई सामान्य चुनावको रुपमा मात्र नलिएर ‘व्याटल’ को रुपमा बुझ्न निर्देशन दिए ।

‘लइाडँमा जाँदा हामी कसरी जान्थ्यौं, त्यसै गरी यो निर्वाचनमा जान जरुरी छ,’ उनले भने, ‘यो निर्वाचन सामान्य हुने छैन ।’ माओवादीलाई स्थानीय तह र अबका निर्वाचनमा परास्त गर्न धेरै शक्तिहरु लागेको उनले टिप्पणी गरे । दुई दलीय प्रणालीमा जाने बहस त्यसैको रुपमा प्रस्तुत भएको उनको भनई छ ।

गठबन्धनको भरमा चुनाव जित्ने भ्रम दिमागबाट निकाल्न उनको कार्यकर्तालाई आग्रह गरे । ‘गठबन्धनको भरमा निर्वाचन जितौंला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस्’, उनले भने, ‘आफ्नो तागत र आफ्नै बलमा चुनाब लडौं । जसरी पनि चुनाब जित्ने गरेर अघि बढौं ।’

पहिलो संविधान सभामा जनयुद्धको रापतापसहित निर्वाचनमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे । त्यस्तै जोशका साथ निर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन छ । ‘आक्रामक ढंगले प्रस्तुत हुन सकियो भने निर्वाचनमा सफलता प्राप्त गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘हामी सेटिङ मिलाउन जाँन्दैनौ तर सेटिङ मिलाउनेको सातो लैजान जान्दछौं ।’ संसद विघटनविरुद्धको आन्दोलनको सफलताले उर्जा दिएको उनले बताए ।

उनले अबका दुई महिना सम्पूणर् तागत निर्वाचनलाई लगाउन आग्रह गरे । उनले जनतासँग लुज भएको सम्बन्धलाई सुदृढिकरण गर्ने गरी गाउँ गाउँ जान निर्देशन समेत दिए । ‘आजभोली हामी सहिद परिवारको घर कटेर जान खोज्छौं । घाइते अपाङ्ग साथीहरुलाई सकेसम्म भेट्न नपरे हुन्थ्यो भन्ने पनि देखियो’, उनले थपे, ‘त्यसो नगरौं। त्यस्तो गर्ने छुट हामीलाई छैन ।’

जनताको सेवा गर्ने भन्दा पनि आफ्नै सेवा गर्नेतर्फ केन्द्रीत हुनु दुर्भाग्य भएको उनको भनाई छ । उनले आत्मसमीक्षा सहित चुनावमा जान उनले आग्रह गरे । देशभर प्रशिक्षणको क्रममा रिपोर्ट लिँदा पार्टी कतै कमजोर नभएको देखिएको उनको भनाई छ ।

 
 
  
 

You may also like