चीन भ्रमण फलदायी : प्रदेश नं ५ मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन् । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस विज्ञप्ति मार्फत जानकारी गराए ।

चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सिचुवान अन्तरराष्ट्रियमैत्री शहरहरूको सम्मेलनमा भाग लिन असोज २७ गते चीन भ्रमणमा गएका मुख्यमन्त्री पोखरेल शुक्रबार स्वदेश फर्किएका थिए ।

विश्वका ३२ देशका ४३ प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको चर्चा गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआई एक विश्वव्यापी अभियान भएको, यसमा आवद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ सम्भावनाहरू खोज्न लाभदायक हुने विचार उहाँले व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उद्घाटन सत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दूतावास खोल्ने बताए । सम्मेलन पश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश नं ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।

त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धजन्मस्थल लुम्बिनीलगायतका पर्यटकीयस्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणका लागि निमन्त्रणा गरेका थिए । प्रदेश नं ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्जलगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताए । मुख्यमन्त्रीले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीयस्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

पाँचदिने भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी भएका थिए ।

त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफलसमेत भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा विशेषगरी बिआरआईअन्तर्गत पर्यटन, जडीबुटी, उद्योग, आइटी र छात्रवृत्ति आदानप्रदान गर्ने विषयमा भएको थियो ।

चिनियाँ मोडलको औद्योगिकग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नं ५ ले सिक्न सक्ने सम्भावनाका विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी, नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीे पोखरेलले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र सम्भावना तथा नेइजियाङ शहरसितको सहकार्यका विषयमा चर्चा गरेका थिए ।

 

 
 
  
 

You may also like