बसाइँसराई शहरीकरणका लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री

बुटवल । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छिन् । उनले गाउँबाट शहरतिर बसोबास बढनु शहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराई एकदमै डरलाग्दो छ ।’ लुम्बिनी प्रदेशको बुटवलमा शहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना शहरबाट ठूला शहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताइन् ।

बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताइन् । सरकारका संयन्त्रले ’एक्लाएक्लै काम गर्छौं’ भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधी जस्ता देखिएको बताइन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको शहरी नीति ल्याउनुपर्ने बताए । उनले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।

 
 
  
 

You may also like