उपनिर्वाचनको लागि दलहरूको तयारी सुरु

by समतल अनलाइन

काठमाडौं । आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार ककस्लाई उठाउने भन्ने छलफलमा जुटेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनका लागि यही कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिईसकेको छ ।

उपनिर्वाचनको तयारीबारे छलफल गर्न नेपाली काँग्रेसले यही कात्तिक ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले कास्की २ को उम्मेदवार टुङ्गो लगाउने सम्भावना छ । धनराज गुरुङ, देवराज चालिसेलगायत नेताहरूको नाममा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

मंसिर १४ गते प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेश ख, दाङ क्षेत्र नम्बर ३ को ख र भक्तपुर १ को क तथा अरु स्थानीय तहमा गरि ४८ स्थानमा उपचुनाव हुन लागेको छ ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २७ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने छ ।

२९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने, र मंसिर ८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

 
 
  
 

You may also like