आफुलाई ‘कमजोर सम्झिने’ सोचले कसरी तपाईलाई रोकिराख्छ ? यसबाट कसरी बाहिर निस्किने ?

by समतल अनलाइन

जीवनको कुनै समयमा वा कुनै अवस्थामा हामी सबै यो अवस्थामा हुन्छौँ ।

मैले गरिरहेको काम वास्तवमै ठिक हो ? मैले सोचेको कुरा वास्तवमै पुरा होला त ? म जुन बाटोबाट अगाडी बढिरहेको छु, यसले सफल बनाउला त ? मैले यो काम गर्न सकिन भने ! म अरु भन्दा कमजोर भएँ भने ! यी यस्ता सोचाइको उदाहरणहरु हुन्, जसमा तपाईले आफुलाई कमजोर सम्झिनु भएको हुन्छ । यसलाई आत्मसन्देह भनिन्छ ।

आत्मसन्देह यस्तो अवस्था हो जहाँ, वनको बाघले खाओस् न खाओस् तर मनको बाघले भने खाएकै हुन्छ । आफुलाई कुनै न कुनै किसिमले कमजोर सम्झिएको हुन्छ र आफ्नो क्षमता, सामर्थ्यप्रति सन्देहको दृष्टिकोणले हेरिन्छ ।

आत्मसन्देहको कारण आफुलाई कम आँकेर वा आत्मविश्वासको कमि हुनु नै हो । आत्मसन्देहमा मानिस आफुले गर्नु पर्ने काम गर्न नसक्ने हुँ कि भन्ने चिन्ताले ग्रस्त हुन्छ । यस्तो अवस्थामा एक किसिमको मानसिक पिडा हुन्छ र सोच्न थालिन्छ कि कुनै कुराहरु आफ्नो नियन्त्रणमा छैन र समय आफुले सोचे जस्तो हुने छैन ।

हुन त, एक तहसम्मको आत्मसन्देह जायज हुन्छ । यसले आफुमा भएको कमजोरीको मुल्यांकन गर्न सहयोग पुर्याउँछ । यसले आफ्ना कमजोरीहरुको बारेमा सोचेर त्यसलाई सुधार्दै थप राम्रो हुन प्रेरित गर्छ । तर लगातारको आत्मसन्देहले जीवनलाई एकदमै धेरै असर पुर्याउँछ, त्यो पनि नकारात्मक रुपमा ।

यो लेखमा मैले आत्मसन्देह किन हुन्छ ? यसले कसरी अगाडी बढ्नबाट रोकिराख्छ ? यसबाट कसरी उम्किने भन्ने बारेमा लेख्नेछु । आशा छ, तपाईले पढ्नुहुनेछ र आफुमा यस किसिमको आत्मसन्देह छ भने त्यसबाट उम्किएर अगाडी बढ्ने साहस जुटाउँनु हुनेछ ।

आत्मसन्देहले कसरी रोक्छ ?

एउटा उदाहरण हेरौँ ।

तपाई कुनै कम्पनीमा काम गर्नुहुन्छ । तपाईको हाकिमले तपाईलाई कुनै महत्वपुर्ण काम दिइयो । तपाईलाई थाहा हुन्छ कि त्यो काम राम्ररी गर्नुमा तपाईको करिअरमा फरक पार्न सक्ने कुरा हो तर तपाई त्यसलाई अवसरका रुपमा उपयोग गर्नको साटो डराउँन थाल्नुहुन्छ ।

तपाईको चिन्ता केमा हुन्छ भने यस्तो महत्वपुर्ण काम तपाईले राम्ररी गर्न सक्नु भएन भने तपाई हासोको पात्र बन्नु हुनेछ । तपाई कसरी नराम्रो हुन्छ भन्ने बारेमा अनेक पक्षबाट सोच्नुहुन्छ र आफुलाई अनावश्यक मानसिक तनाव दिनु हुन्छ ।

यहि तनाव र आत्मसन्देहमा तपाई धेरै समय अल्मलिनु हुनेछ । जति तनावमा भए पनि काम त गर्नै पर्छ । तपाईले अन्तिम समयमा हतार हतार र डराइ डराइ काम सक्नु हुनेछ ।

र, जब त्यो काम सकिएको विवरण सुनाउँनु हुन्छ, तब तपाईको मनमा लाग्छ कि मैले समयमा गरेको भए यो भन्दा अझै राम्रो गर्न सक्थेँ ।

हो, तपाई भित्रको आत्मसन्देहको भुमरीले तपाईको रचनात्मक समय खोस्यो । तपाईको उर्जा र समय त्यसमा खर्च भयो । तपाईले आफ्नो क्षमता अनुसार परिणाम दिन सक्नु भएन ।

आत्मसन्देहका ५ साधारण कारणहरु र त्यसबाट उम्किने कुरा

के कारणले आत्मसन्देह पैदा हुन्छ ? यसका असाध्यै धेरै कारणहरु हुन्छन् । म यहाँ केहि मुख्य कारणहरुका बारेमा चर्चा गर्न लागिरहेको छु ।

१. विगत

विगत कस्तो थियो भन्ने कुराले वर्तमानमा मानिसको स्वभाव र विचार कस्तो छ भन्ने कुरा निर्धारण गर्छ । मान्छेको ज्ञान भन्नु नै अनुभव र सिकाइ हो ।

विगतमा भएको गल्तिहरुको दुष्चक्रबाट निस्किन नसकेर पनि मानिसहरु फेरि मबाट गल्ति होला कि भन्ने आत्मसन्देहको भुमरीमा पर्ने गर्छन् । यो एक किसिमको सजगता पनि हो तर लामो समय रहने यस्तो विचारले आत्मसन्देहको रुप लिन्छ र मानिसले स्वयमलाई कम भाग्यशाली वा कम सक्षम ठान्न पुग्छ ।

यस्तोमा के गर्ने ?

बुझ्नु पर्ने कुरा के हो भने विगतलाई सच्याउँन वा बदल्न सकिदैन । त्यसबाट सिक्न मात्रै सकिन्छ । यस्तो भइदिएको भए वा यस्तो नभइदिएको भए भन्ने मानसिकतामा रहिरहदा आत्मसन्देहको भुमरीमा परिन्छ । सक्दो चाँडो विगतलाई स्विकारेर वर्तमानमा तयार भएर बस्नु पर्छ ।

२. बाल्यावस्था

बाल्यवश्था कसरी बित्यो भन्ने कुराले मानिस ठुलो हुँदासम्म मानसिकरुपमा प्रभाव पारिरहेको हुन्छ । बाल्यवस्थाको पारिवारिक वातावरण, पढाइ, साथी संगतको असरले पनि मानिसमा आत्मविश्वासको कमि हुन सक्छ ।

यस्तोमा के गर्ने ?

बाल्यवस्थाको जीवनभर प्रभाव रहन्छ तर जीवनभरका कामहरुमा त्यही बाल्यवस्थाको प्रभाव मात्रै रहदैन । सानो हुँदा औसत भन्दा तल रहेकाहरुको सफलताका कथा प्रशस्त छन् ।

३. अरुसँगको तुलना

अरुसँग तुलना गर्ने बानीले मानिस स्वयम आफु कम भएको भ्रममा पर्न सक्छ । मानिसको प्राकृतिक स्वभाव नै हो, मानिस आफुले जहिलै आफु भन्दा शक्तिशालीसँग आफुलाई तुलना गर्छ । यस्तोमा आफु भन्दा अब्बलको तुलनामा आफु कमजोर देखिएर आत्मसन्देह बढ्नु स्वभाविक हो ।

यस्तोमा के गर्ने ?

अरुसँग तुलना गर्नु कुनै बेला सहि पनि हो किनकी एउटा मापदण्ड बनाएर त्यसलाई पछ्याउँन सकिन्छ तर अरुसँग आवश्यक भन्दा बढि तुलना गर्नु चै हानिकारक हुन्छ । सबै मानिसहरु फरक छन् । सबै मानिसहरुमा फरक फरक स्वभाव, विशेषता र खुबी हुन्छन् । यो प्राकृतिक सत्य हो ।

४. जोखिमको डर

नयाँ कुरा गर्नु जोखिम हुन्छ । गरिरहेको काम, बसिरहेको स्थानबाट फरक काम र फरक स्थानमा जाँदा आत्मसन्देह हुनु त्यति धेरै अस्वभाविक कुरा होइन । नयाँ कुरामा बढि अनिश्चितता हुने गर्छ । यस्तोमा के हुने हो भन्ने शंका रहनु सामान्य हो ।

यस्तोमा के गर्ने ?

यस्तोमा म गर्न सक्दिन वा मलाई गाह्रो हुने भो भन्ने सोच्नु भन्दा नयाँ अनुभव हुने अवसर पाइयो भनेर खुसी हुन सकिन्छ । तपाई मात्रै होइन, हरेक मानिसलाई नयाँ कुरामा बानी पर्न समय लाग्छ, कठिन हुन्छ । कसैको देखिन्छ र कसैको देखिदैन, फरक यति मात्रै हो । तपाई विशेष वा कमजोर भएकाले नयाँ ठाउँ वा नयाँ परिस्थितीमा गाह्रो हुने होइन ।

५. असफलताको डर

बिग्रिने पो हो कि, असफल पो भइन्छ कि भन्ने डरकै कारण धेरै मानिसहरु असफल हुने गर्छन् । कमै मानिसलाई मात्रै आफुले गरेको काम पुर्णरुपमा सहि हुन्छ वा सफल हुन्छ भन्ने लाग्छ । जति बुझ्दै गयो, त्यति असफल भइन्छ कि भन्ने डरले समात्छ ।

यस्तोमा के गर्ने ?

सफलता वा असफलताको बारेमा विचार नगरी काममा ध्यान दिने । सबै भन्दा राम्रो उपाय नै यहि हो । सफल होला कि नहोला भन्ने तर्फ आफ्नो शक्ति खेर फ्याल्नु भन्दा सकेसम्म राम्रो काम गर्ने हो भने पक्कै पनि नतिजा राम्रै हाशिल हुन्छ ।

आत्मसन्देह कम गर्ने साधारण उपायहरु

आत्मसन्देह केवल भ्रम हो । यसलाई कम गर्न वा यसबाट उम्किनका लागि केहि उपायहरु प्रयोग गर्न सकिन्छ ।

१. मनमा असाध्यै धेरै आत्मसन्देह रहिरहे, भविष्यका बारेमा सोच्न बन्द गर्ने । आफ्नो वर्तमान अवस्था के छ भन्नेमा ध्यान दिने ।

२. छुट्टी वा बिदा तथा कामबाट केहि बेर टाढा बस्दा पनि सोच्ने दृष्टिकोण परिवर्तन हुन सक्छ र यसले आत्मविश्वास बढ्छ ।

३. अरुबाट सहयोग लिन नहिच्किचाउँने । आफुलाई नजानेको कुरा जोसुकैबाट सिक्न सक्नु असाध्यै राम्रो कुरा हो ।

 
 
  
 

You may also like