काठमाडौं मेडिकल कलेज पुगेर शिक्षामन्त्री पौडेलले भने, ‘बढी शुल्क लिए कारबाही हुन्छ’

by समतल अनलाइन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमनका लागि पुगेका छन् । बिहीबार बिहान मन्त्री पौडेल भक्तपुर दुवाकोटस्थित केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका थिए ।

त्यसक्रममा शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा सोधपुछ गरेका थिए । प्रधानाध्यापक श्रेष्ठले आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गरे ।

‘विद्यार्थीको कम्प्लेन चाँही चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी भयो भन्ने गुनासो सार्वजनिक रुपमा र मन्त्रालयमा पनि आएको छ । तोकिएको भन्दा बढी लिएको भन्ने आएकोले त्यसो भएको हो कि होइन ? तोकिएको भन्दा बढी नलिने प्रस्ट रुपमा ऐनमा व्यवस्था छ’ मन्त्री पौडेलले श्रेष्ठसँग भने । त्यसक्रममा श्रेष्ठले आफूहरुले बढी पैसा नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या आएको दाबी गरे ।

‘आयोगबाटै समस्या छ । ट्युसन फी भित्रै परीक्षा शुल्क पर्छ भनेर पत्र आयोगले लेखेपछि समस्या भएको होे’ उनले भने । तोकिएको शीर्षक भन्दा बढी शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई रहेकोले वार्ताबाट समस्या समाधान गर्न मन्त्रीले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कलेजले होस्टलको नाममा बढी फी लिइरहेको र त्यस अनुसार सुविधा नभएको गुनासोसमेत आइरहेको बताइन् । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन गरिरहेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावकले प्रदर्शन गरिरहेका छन् ।

 
 
  
 

You may also like