कोभिड महामारीबाट दुई वर्षमा ५४ लाख मानिसको मृत्यु दुई करोड ५२ लाख कोभिड-१९ का सक्रिय संक्रमित

by समतल अनलाइन

काठमाडौं । मानिसमा कोभिड १९ को संक्रमण पहिचान भएकोे आज दुई वर्ष पूरा भएको छ । सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहान सहरमा पहिलोपटक कोभिड संक्रमण पुष्टि भएको थियो । चीनबाट सुरु भएको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले सन् २०२० मार्च ११ मा कोभिड-१९ लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेको थियो ।

पछिल्लो समय ओमिक्रोन भेरियन्ट देखिएसँगै हालसम्म कोभिड १९ का ९ वटा भेरियन्ट देखिएको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । दुई वर्षको अवधिमा विश्वमा कोभिड १९ ले २८ करोड ७२ हजार ३०१ जना संक्रमित भइसकेका छन् । ५४ लाख २३ हजार १२७ जनाको मृत्यु भइसकेको छ । विश्वमा अहिले पनि २ करोड ५२ लाख ३५ हजार ३६२ कोभिड १९ का सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा सन् २०२० जनवरी १४ मा पहिलोपटक चीनबाट आएका एक विद्यार्थीमा पुष्टि भएको कोभिड १९ को संक्रमण २०७६ चैतदेखि समुदायस्तरमा फैलिन थालेको थियो । दुईवटा लहर पार गर्दै पुस १५ गतेसम्म आइपुग्दा नेपालमा कोभिड १९ को संक्रमणबाट ९ लाख २३ हजार ९३३ जना संक्रमित भएका छन् ।

यीमध्ये ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ११ हजार ५८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । नेपालमा अहिले ११ बर्षदेखि माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिइँदैछ । पुस १५ गतेसम्म १ करोड २ लाख २९ हजार १४४ जनाले पूर्ण खोप र १ करोड ३७ लाख ९४ हजार ४१७ जनाले पहिलो डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

 
 
  
 

You may also like