नेपालको वामपन्थी आन्दोलन सही बाटोमा छैन : शंकर पोखरेल

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो वामपन्थी दल बनाउनका लागि दुई पार्टी मिलेर नेकपा बनाएको तर विविध कारणले एकता भङ्ग हुनु दुःखद भएको बताए । अहिले पनि देशमा वामपन्थी एकताको खाँचो रहेको पोखरेलको भनाइ छ ।

उनले पछिल्ला तीन-तीन वटा राजनीतिक क्रान्ति गर्दा देशमा समृद्धि किन आएन भनेर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । पार्टीहरू अहिलेसम्म नागरिक अधिकारका प्रश्नमा केन्द्रित रहेको तर देश बनाउने र नागरिकको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिइएको भन्दै महासचिव पोखरेलले दलहरूका महाधिवेशनमा नागरिकका मुद्दामा छलफल हुनुपर्ने बताए ।

अहिले देश हिंड्नुपर्ने बाटो एउटा भए पनि राजनीति अर्कै बाटोमा हिंडेको भन्दै महासचिव शंकर पोखरेलले सबै दल र नेताले एक पटक गम्भीर भएर सोच्नुपर्ने बताए । पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ।

 
 
  
 

You may also like