माओवादी केन्द्रलाई नयाँ रुपान्तरित क्रान्तिकारी पार्टी बनाउँछौं : नारायणकाजी श्रेष्ठ

by समतल अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने दावी गरेका छन् । आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी पार्टी निर्माण गर्न महाधिवेशनले भूमिका खेल्ने दाबी गरेका हुन् ।

उनले भने, ‘रुपान्तरित नयाँ क्रान्तिकारी पार्टी निर्माणको चरणमा छौं । संगठनात्मक कर्मकाण्ड पूरा गर्न यो महाधिवेशन गर्न लागि राखेका छैनौं । आम जनताको अपेक्षा र आवश्यकता, नेपालको परिवर्तनको आवश्यकतालाई सम्बोधन गर्ने गरी भूमिका निर्वाहको तयारीका लागि महाधिवेशन गर्न लागिरहेका छौं ।’

उनले समाजवादउन्मुख राज्य व्यवस्था स्थापनाका लागि अघि बढ्नुपर्ने धारणा राखे । श्रेष्ठले भने, ‘राष्ट्रियताको सवालमा हामी कसैसँग झुक्दैनौं । संविधानको रक्षा गर्नुछ । संविधानलाई परिमार्जनसहित विकसित र परिस्कृत गर्नुछ । शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता पुरा गर्नुछ । समाजवादउन्मुख राज्य व्यवस्था स्थापनाका लागि अघि बढ्नु पर्नेछ ।’

उनले संक्रमणकालीन न्यायका कामहरु पूरा गर्नुपर्ने काम बाँकि रहेको बताए । जनताको जीवन फेर्ने आवश्यकता अझै पूरा नभएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे । उनले भने, ‘माओवादी केन्द्रले लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्म निरपेक्षता जस्ता एजेण्डा स्थापित गर्न प्रमुख भूमिका खेल्यो ।’

 
 
  
 

You may also like