नेपाल–चीनबीच यी बुँदामा भयो समझदारी (सुचीसहित)

by समतल अनलाइन

काठमाडौँ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ ।

चीनका राष्ट्रपति सी जीनपीङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

हस्ताक्षर भएका प्रमुख बुँदामा नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता, नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू), नेपाल र चीनबीच आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि, नेपाल र चीनबीच सगरमाथा-झुमालांग्माको संरक्षणमा सहकार्य गर्ने समझदारी, लगानीका मुख्य परियोजनालाई प्रवद्र्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी, चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता, नेपाल–चीन अन्तर्सीमा रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी, काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहर बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता, बुटवल उपमहानगरपालिका र चीनको जियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता प्रमुख रहेका छन् ।

नेपाल र चीन बीच भएको समझदारी पत्र :

http://samatalonline.com/wp-content/uploads/2019/10/Xi_Agreement-1.pdf

 
 
  
 

You may also like