प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

by समतल अनलाइन

रुपन्देही।चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध स्थापना कायम गर्ने समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु-याउन बल पुग्ने विश्वास व्यक्त गरेका थिए । सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताएको केसीले जनाए ।

समझदारीपछि दुबैले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु-याउँदै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा मुख्यमन्त्रीले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताउँदैे प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए ।
मुख्यमन्त्रीले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा दिँदै भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन् । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।
मुख्यमन्त्री—उपमहानिर्देशक भेट
यसैगरी मुख्यमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुरानो रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु-याएको बताए ।
त्यसैगरी मुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउ पिन बीच पनि भेट भएको छ । भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउपिनले सिचुवानमा कृषिको व्यवसायिक विकासमा पाएको सफलताबारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री सहितको टोली १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेको हो । भ्रमणका क्रममा सिचुवानप्रान्तको या आन नगर र घोराही उपमहा नगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिका बीचपनिभगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 
 
  
 

You may also like