एसईई रजिष्ट्रेसन र आवेदन फारम आजबाट खुला

by समतल अनलाइन

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आजबाट आवेदन फारम खुला गरेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो ।

यस्तै, बोर्डले २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फारम पनि खुला गरेको छ । पनिकाकाअनुसार एसईईमा आवेदन फारम भर्न साधारण र प्राविधिक धारतर्फका विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको अर्थात् २०६४ साल चैत मसान्तसम्मको जन्म मिति भएको हुनुपर्ने छ । आवेदन फारम भर्न प्रति विद्यार्थी पाँच सय रुपियाँ तोकिएको छ ।

यसैगरी आवेदन फाराम भर्नका लागि रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, २०७६ साल वा सोभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्मिलित गराउनुपर्नेछ । खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीका हकमा चैत मसान्तभित्र १६ वर्ष पुग्ने उमेर भएको हुनुपर्ने बताइएको छ ।

पनिकाले २०७८ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीले २०७९ सालको नियमित एसईई परीक्षामा सम्मिलित हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ ।

यस्तै, खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७८ सालको नियमित एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरिएको छ । रजिष्ट्रेसन फाराम भर्नका लागि कात्तिक मसान्तसम्मको समयावधि तोकिएको छ । रजिष्ट्रेसन फारामका लागि प्रति विद्यार्थी तीन सय रुपियाँ कायम रहेको छ ।

 
 
  
 

You may also like